सप्तरीबाट २१ जनाको स्वाब पठाइयो
राजविराज : संक्रमित बसेका विभिन्न स्थान पत्ता लागेपछि तीव्र परीक्षण थालेको सप्तरीको राजविराज अस्पतालले भारतको जमातबाट आएका १२ सहित २१ जनाको स्वाब परीक्षणका लागि धरान पठाएको छ। रिपोर्ट पोजेटिभ आएका एक जनाको परिवारका सदस्यसहित भारतको दिल्लीलगायत विभिन्न राज्यमा तब्लिगी जमातद्वारा आयोजित इस्लाम धर्मको प्रचारमा गएका जमातीको स्वाब परीक्षणका लागि धरान पठाइएको हो।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना संक्रमित सप्तरीको विभिन्न मस्जिदमा बस्दै गएको पत्ता लागेपछि आरडिटी परीक्षण तीव्र पारेको सप्तरीमा दुई दिनको अवधिमा दुई सय ३८ जनाको आरडीटी परीक्षण गरिएको छ।
यसैगरी, तिरहुतको डिमन गाउँपालिकास्थित क्वारेन्टाइनमा राखिएका १२ जमातीसहित २१ जनाको स्वाब पीसीआर प्रविधिबाट परीक्षण गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालले जनाएको छ।
आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएका ७१ वर्षीय ज्येष्ठ नागरिक, उनको श्रीमती र छोरा, साढे एक महिनाअघि अमोरिकाबाट नेपाल आएका ६२ वर्षीय एक जना तथा कतारबाट आएका पाँच जनाको स्वाब निकालेर धरान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए।
सप्तकोसी नगरपालिका–१ मा शनिबार ७४ जनाको आरडीटी परीक्षण गर्दा ज्येष्ठ नागरिकको रिपोर्ट पोजेटिभ आएको थियो। उहाँकी श्रीमती र छोराको आरडीटी परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ।
भारतबाट आएका १२ जना जमाती, अमेरिका र कतारबाट आएका सबैको आरडीटी परीक्षण नेगेटिभ नै आएको छ। तथापि, निश्चित हुन रिपोर्ट पोजेटिभ आएका एक र नेगेटिभ आएका २० जनाको स्वाब निकाली परीक्षणका लागि धरान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले बताए।
स्वाब पठाइएका २१ जनामै कोरोना संक्रमणका कुनै लक्षण नदेखिएको उनले बताए। रिपोर्ट पोजेटिभ आएका ७१ वर्षीय ज्येष्ठ नागरिकसहित उनकी श्रीमती र छोरालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा छुट्टाछुट्टै राखिएको छ।
सीमाको जिल्ला उदयपुरमा फेला परेका १३ जना संक्रमितको बसाइ रहेको सप्तरीको सप्तकोसी नगरपालिका–२ मा ६६ जना र वडा नम्बर ४ मा ३१ जनाको आइतबार आरडीटी परीक्षण गरिएको २ नम्बरका वडासदस्य जाहिर हुसेनले जानकारी दिए। सप्तकोसीको बाटो हुँदै उदयपुरको त्रियुगा जानुअघि संक्रमितहरू केही दिन बसेको कञ्चनरुप नगरपालिका–२ बरमझियामा समेत आरडीटी परीक्षण गर्न लागिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका सि. अहेव डम्बर गुप्ताका अनुसार मस्जिद, मदर्सामा प्रत्यक्ष सम्पर्क आउने सम्भावित ३५ परिवारका करिब सय जनाको सोमबार परीक्षण गरिनेछ।