घर पुग्न नसक्दा बाटोमै किरिया
बेनी : बाँकेको कोहलपुर-१२ निबुवाका ३६ वर्षीय रत्नबहादुर बुढा डेढ महिनाअघि बिरामी बुवाको उपचार र घरखर्च जुटाउन कामको खोजीमा मुस्ताङ पुगेका थिए।
घर बनाउने काममा लागेको १५ दिनमै कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उनीसहित आएका १० जनाको रोजगारी गुम्यो। काम गर्ने ठाउँमै बसिरहेका थिए। वैशाख ३ गते दमका बिरामी बुढाका बुवाको निधन भएको घरबाट खबर आयो।
बुवाको उपचार गर्ने बुढाको सपना चकनाचुर मात्र भएन, अन्तिम पटक अनुहार हेर्न र दाहसंस्कारमा समेत सहभागी हुन पाएनन्। बुवा बितेको खबर आएको दिन कपाल मुण्डन गरेर किरिया बसेका छन्। बाटोमै किरिया बसेका बुढा लकडाउनले यातायातका साधन नपाएपछि साथीहरूसँग हिँडेरै तेह्रौँ दिनको पुण्यतिथिका दिनसम्म घर पुग्ने लक्ष्यसहित यात्रामा निस्किएका छन्।
‘घरमा बुबाको निधन भएपछि आमालाई सान्तवना दिनेसमेत कोही भएनन्,’ उनले भने, ‘लकडाउन खुल्ने निश्चित भएपछि पैदलै हिँडेर घर जान लागेको हो।’ उनीहरू पाँच जना दाजुभाइ छन्। घरमा एक जना मात्र छन्। दुई जना विदेशमा छन्। नेपालमै भएका रत्न र अर्का भाइ लकडाउनका कारण बुवाको किरिया गर्न घर पुग्न सकेका छैनन्।
नुन र अरूले पकाएको खान छाडेका बुढाको शरीर कमजोर भएको छ। फलफूल र पानीको भरमा गर्मीमा हिँडेका उनको खुट्टा सुन्निन थालेका छन्। शरीर कमजोर भएर लगलग काँप्न थालेको छ। बुढासँगै बाँकेका १० जना कामको खोजीमा गत फागुन अन्तिम साता मुस्ताङ पुगेका थिए।
सडक, घर निर्माणलगायत काममा ज्याला मजदुरी सुरु गरेको १० दिनमै लकडाउन भएपछि उनीहरूको रोजीरोटी खोसिएको थियो। रोजगारी गुमे पनि करिब एक महिना जेनतेन दिन बिताए पनि खाने बस्ने आधार नै नभएपछि अन्ततः आफ्नै घर जाने निधो गरेर यात्रा सुरु गरेको अर्का मजदुर धनबहादुर सुनारले बताए।
वैशाख ६ गते दिउँसो घाँसाबाट हिँडेका उनीहरू राति ११ बजे गलेश्वर आइपुगेका थिए। प्रहरीले बेनीतर्फ आउन नदिएपछि उनीहरू खुला चौरमै सुतेका थिए। ‘पटक-पटक नाम टिपोट गरी लगे तर कसैले खानेकुरा दिएनन्,’ खिरे दमैले भने, ‘भएको रासन सकियो, पैसा पनि नभएपछि चिउरा र भुजाको भरमा घर जान लागेका छौँ।’
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी र व्यवसायी बालकृष्ण खत्रीको पहलमा आइतबार दिउँसो उनीहरूलाई बेनीमा खाना खुवाइएको थियो।
म्याग्दी र पर्वतको प्रशासन कार्यालयको मौखिक सहमतिमा जलजला-३ वारिबेनीका व्यवसायी विक्रम सुवेदीले आफ्नो निजी गाडीमा चढाएर कास्कीको सिमाना नयाँ पुलसम्म पुर्याएका थिए। त्यहाँबाट पैदलै हिँडेर पोखरातर्फ लागेको सुवेदीले बताए। किरिया गर्न घर जान हिँडेका उनीहरूलाई गन्तव्यमा पुर्याउन कास्की प्रशासनसँग समन्वय गरिएको म्याग्दीका सीडीओ ज्ञाननाथ ढकालले बताए।
लकडाउनका कारण रोजगारी गुमेका म्याग्दीका करिब हजार जना मजदुरलाई सम्बन्धित निर्माण व्यवसायीले यातायातको व्यवस्था गरेर घर पठाएका थिए। म्याग्दीमा सञ्चालित जलविद्युत्, प्रसारण लाइन, सबस्टेसन, सडक, नदी नियन्त्रणलगायत योजनामा ५ हजारभन्दा बढी मजदुर कार्यरत छन्।
करिब तीन सातासम्म रोकिएका जलविद्युत् आयोजना गत सातादेखि सुचारु भएका छन्। मजदुर, उपकरण, इन्धन र निर्माण सामग्री भएका योजनालाई सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्न थालेको सीडीओ ढकालले बताए।
लकडाउनका कारण रोजगारी गुमेका मजदुर र विपन्न करिब ४ हजार परिवारलाई स्थानीय तहमार्फत खाद्यान्न राहत वितरण गरिएको छ। बेनी नगरपालिकाले एक हजार दुई सय, धवलागिरि गाउँपालिकाले ६ सय, मालिका गाउँपालिकाले ८८८, मंगला गाउँपालिकाले ६१८, रघुगंगा गाउँपालिकाले ६ सय र अन्नपूर्ण गाउँपालिकाले ५ सय परिवारलाई राहत वितरण गरेको जनाएका छन्।
प्रतिपरिवार एक बोरा चामल, तीनदेखि चार केजी दाल, दुईदेखि तीन लिटर खाने तेल र तीन वटाका दरले हात धुने साबुन वितरण गरिएका हुन््। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक, विपन्न र सुकुमबासीलाई लकडाउनपछि आयस्रोत गुमेकाले भोकै बस्न नपरोस् भन्ने उद्देश्यले सरकारले खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याए पनि प्रभावकारी देखिएको छैन।