आरडीटी पोजिटिभ आएकाको स्वाब रिपोर्ट नेगेटिभ
राजविराज : संक्रमितहरू बसेको क्षेत्र सप्तरीको सप्तकोशी नगरपालिका-१ का एक जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा कोरोनासँग मिल्ने लक्षण भेटिए पनि स्वाब परीक्षणमा नेगेटिभ देखिएको छ। बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षण नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना संक्रमितहरू भुल्के भन्दा पहिले सप्तरीको सप्तकोशी नगरपालिकाको मस्जिदमा बसेर गएको पाइएपछि सो क्षेत्रमा शनिबार र आइतबार गरी एक सय ७१ जनाको आरडिटी परीक्षण गरिएको थियो।
सप्तकोशी नगरपालिका-१ फत्तेपुरका ७१ वर्षीय जेष्ठ नागरिकको आरडीटी परीक्षणमा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट स्वाबको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डा. दासले बताए। उनीसँगै आइतबार राति धरान पठाइएको २२ जनामध्ये २१ जनाको स्वाब परीक्षण नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ। जेष्ठ नागरिकसँगै उनकी श्रीमती र छोरा, भारतबाट आएका १२ जना जमाती, कतारबाट आएका पाँच जना, अमेरिका र भारतबाट आएका एक/एक जना गरी २२ जनाको स्वाब परीक्षणका लागि आइतबार राति धरान पठाइएको थियो। जेष्ठ नागरिक बाहेक अन्य २१ जनाको आरडिटी नेगेटिभ आए पनि निश्चित हुनका लागि पुनः परीक्षण गर्न पठाइएको डा. दासले बताए।
एक साता अघि भारतको दिल्लीस्थित निजामुद्दीनमा तब्लिगी जमातद्वारा आयोजितबाट मरकजमा सहभागी भई आएका आठ जनाको आरडिटी प्रविधिमार्फत एण्टिबडी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएकोमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो। योसँगै सप्तरीमा हालसम्म गरिएको ४० ओटा स्वाब परीक्षणमा ३९ जनाको नेगेटिभ आएको छ, एउटा रिपोर्ट आउन बाँकी छ।
त्रियुगा नगरपालिका-३ भुल्केमा फेला परेका संक्रमितहरू सप्तरीको बोदे बर्साइन नगरपालिका-५ जाँजरमा भएको इस्लाम धर्मालम्बीहरूको धार्मिक सभा 'इज्तिमा'मा सहभागी भई कञ्चनरूप नगरपालिका-२ र सप्तकोशी नगरपालिका-१ स्थित मस्जिदमा बस्दै भुल्के गएको पाइएपछि सो क्षेत्रमा आरडिटी परीक्षणलाई तिब्र बनाइएको छ।
संक्रमितहरू बसेको क्षेत्र, बिदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू, प्रदेशसभा २ का सदस्य मनिष सुमन, समाजवादी फोरमका नेता दिनेश यादव, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारीहरू समेत गरेर हालसम्म सप्तरीमा चार सय ८० जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। त्यसमध्ये तीन जनाको रिपोर्ट पोजिटिभ आएपनि पिसिआर बिधिबाट स्वाब परीक्षण गर्दा नेगेटिभ आए पछि सप्तरीवासीले केही राहत महसुस गरेका छन्।