सप्तरीमा ४० जनाकै कोरोना रिपोर्ट 'नेगेटिभ', संक्रमित बसेको क्षेत्रमा दुई सय आरडिटी परीक्षण
राजविराज : पीसीआर विधिबाट कोरोना संक्रमणको रिपोर्ट आउन बाँकी सप्तरीका एकजनाको रिपोर्ट पनि मंगलबार 'नेगेटिभ' आएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएका २२ जनामध्ये २१ जनाको रिपोर्ट सोमबार राति र एक जनाको रिपोर्ट मंगलबार दिउँसो 'नेगेटिभ' आएको हो।
एकसाथ आइतबार राति पठाइएको २२ जनाको रिपोर्ट नेगेटिभ आए पनि एकजनाको रिपोर्ट नआउँदा आशंका गर्न थालिएको थियो । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरी सप्तरीबाट पठाइएको ४० जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
आरडिटी प्रविधिमार्फत एण्टिबडी परीक्षण गर्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१, खडक नगरपालिका-१० र सप्तकोशी नगरपालिका-१ का एक÷एक गरी तीनजनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । उनीहरु समेत सबै ४० जनाको स्वाब परीक्षण रिपोर्ट 'नेगेटिभ' आएको हो ।
पीसीआर विधिबाट रिपोर्ट पोजिटिभ आएका र उनको परिवार, भारत दिल्लीस्थित निजामुद्दीनसहित विभिन्न राज्यबाट आएका जमाती, अमेरिका र कतारबाट आएका गरी ४० जना नेपालीको स्वाब पीसीआर विधिबाट पुनः परीक्षणका लागि धरान पठाइएको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना संक्रमित भुल्केभन्दा पहिले सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको मस्जिदमा बसेर गएको पाइएपछि सो क्षेत्रमा २ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ ।
सप्तकोशी नगरपालिकामा १ सय ७१ जनाको आरडिटी परीक्षण पछि कञ्चनरुपमा ४१ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हालसम्म सप्तरीमा ४० जनाको स्वाब र पाँच सय २१ जनाको आरडिटी परीक्षण गरिएको छ । आरडिटी परीक्षण गर्नेमा ६४ महिला र ४ सय ५७ पुरुष छन् । हाल स्थानीय तहद्वारा सञ्चालित क्वारेन्टाइनमा १ सय ३१ जना र होम क्वारेन्टाइनमा २२ जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।