लक्षण नदेखिँदा भुल्केमा त्रास
उदयपुर : देशभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएको छ। त्यो हो, त्रियुगा नगरपालिका–३ भुल्के। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि स्थानीयवासी त्रासमा छन्।
शुक्रबारसम्म देशभर संक्रमितको संख्या ४९ छ। यीमध्ये १० जना निको भएर घर फर्किएका छन्। ‘लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो। तर, लक्षणै नदेखिएपछि के गर्ने होला ? ’, स्थानीय राजन राउतले भने, ‘अहिले त लक्षण देखिएन, चुप लागेर बसौंला। लामो समयपछि पनि संक्रमण देखापर्छ भन्ने छ। भित्रभित्रै शरीरमा फैलियो भने के गर्ने होला ? ’
सामान्यतः संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखापर्ने गर्दछ। तर, संक्रमित कसैमा पनि यस्तो लक्षण नदेखिएको जानकारी कोसी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. संगीता मि श्राले दिइन्। लक्षण नदेखिएकै कारण संक्रमितलाई सामान्य वार्डमा राखिएको छ।
स्थानीय यदु ढकालका अनुसार अरूले फोन गर्दा संक्रमित क्षेत्रका स्थानीयलाई भेट गर्दैनौं भन्छन्। ‘अर्कोतर्फ औषधोपचार छैन’, उनले भने, ‘हामीले उत्पादन गरेको तरकारी, दूध बिक्री हुन पाएको छैन्। किनबेच नै ठप्प भयो। नजिकमा देख्दा र फोन गर्दा संक्रमण क्षेत्रका हौ भन्छन्, यो त्रासलाई कहिले हटाउने ? ’
सेना, सशस्त्र र नेपाल प्रहरी बस्तीमा छ्यापछ्याप्ती पसेपछि पनि त्रास फैलिएको स्थानीय ढोढाइ मियाँले बताए। सेना–प्रहरी बस्तीको बीचबीचमा बस्दा बालबालिका, महिलामा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। ड्युटीमा खटिएका प्रहरीले बालबालिकालाई निस्किन नदिएकाले कलिलो दिमागमा मनोवैज्ञानिक असर पुगेको मुस्लिम अभियन्ता नजवुल खानले बताइन्।
स्थानीय प्रशासनले बस्ती सिलबन्दी गरेपछि स्थानीयलाई खाद्यान्नलगायत स्वास्थ्योपचारमा समस्या देखिएको थियो। चौतर्फी दबाबपछि राहत वितरण र स्वास्थय शिविर सञ्चालन गरिएको छ। वडा कार्यालयले बिहीबार ५६ मध्ये ५१ परिवारलाई २०÷२० किलो चामल, दाल, नुन, तेललगायत सामग्री उपलब्ध गराएको छ। ‘पहिलो चरणको राहत उपलब्ध गराएका छौं’, वडाध्यक्ष अवधेशप्रसाद चौधरीले भने, ‘केही छुटेको खबर आएको छ। बाँकीलाई तत्काल पु¥याउँछौं।’
नगरपालिका, स्थानीय प्रशासन, जिल्ला अस्पतालको समन्वयमा स्वास्थ्य कार्यालयले शुक्रबार शिविर सञ्चालन गरेको छ। गाउँमा पाँच जना गर्भवती र १३ जना सुत्केरीसहित अन्यले पनि उपचार सेवा नपाएको गुनासो बढेपछि शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए। नियमित औषधि खाने दीर्घ रोगी, मौसमी र सामान्य बिरामीले औषधि किन्न, उपचार र परीक्षण गर्न नपाएको गुनासो गरेका थिए।