बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली २४ पुगे

लण्डन : बेलायतमा कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २४ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासले शनिबारसम्म २४ जना नेपालीको कोरोनाकै कारण निधन भएको पुष्टी गरेको छ । तर दूतावासको सूचीमा नरहेका केही नेपालीको पनि कारोनाबाटै निधन भएको सम्बन्धित परिवारले बताएका छन् ।
बेलायतमा कोरोनाबाट निधन हुने अधिकांश भूतपूर्व गोर्खा छन् । दूतावासको लिस्टमा समावेश भएका दुई दर्जनमध्ये आधाभन्दा बढी भूतपूर्व गोर्खा सैनिक छन् । त्यस्तै, गोर्खा वेल्फेयर ट्रस्टले पनि अहिलेसम्म १८ जना भूतपूर्व गोर्खा सैनिकको कोरोना संक्रमणबाट निधन भएको पुष्टी गरिसकेको छ ।
अहिलेसम्म मृत्यु हुने नेपालीमध्ये एक ३२ वर्षीया र अर्की ३९ वर्षीया गरी दुई महिला छन् । मृतकमध्ये ४० देखि ५० वर्ष उमेर समूहका तीन जना छन् भने ५० देखि ६० वर्षभित्रका चार जना छन् । त्यस्तै, तीन जना ७० वर्ष भित्रका छन् । अरु सबै ७० देखि ८६ वर्षसम्मका छन् ।
बेलायतमा सयौं नेपाली कोरोनाबाट संक्रमित भएको आँकलन गरिए पनि यकिन तथ्यांक उपलब्ध छैन । एनआरएनए यूकेले संकलन गरेको तथ्यांकअनुसार शनिबारसम्ममा कोरोना संक्रमणका कारण मृत्यु हुनेबाहेक अरु ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जसमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् भने ११ जना अझै पनि उपचाररत छन् । कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बस्ने नेपाली पनि करिब १ सय ५० जना छन्
कोरोनाबाट अति प्रभावित देशमध्येको बेलायतमा रहेको नेपाली समुदायमा पनि कोरोनाको प्रभाव उच्च देखिएको छ । धेरै नेपालीहरु सम्भावित हुनुका पछि विभिन्न कारणहरु हुन सक्ने वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओमप्रसाद गौतम बताउँछन् ।
'त्यसै पनि बेलायतमा स्थानीय श्वेत बेलायती समुदायको तुलनामा अश्वेत तथा एशिएन र अल्पसंख्यक समुदायमा संक्रमणको दर बढी पाइएको छ', डा गौतम भन्छन्, 'यहाँ बस्ने नेपालीहरुको ठूलो संख्या भूपू गोर्खा परिवारका वृद्धवृद्धा भएकाले पनि उहाँहरुमा स्वभाविक रुपमै संक्रमणको बढी जोखिम भएको हो ।'
प्रतिक्रिया दिनुहोस !
