अमेरिकन आइडलको टप २० बाट अघि बढ्न भोट अपिल गर्दै दिवेश

काठमाडौं : ‘आर्थर गन’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल 'टप २०' बाट अघि बढ्न प्रयत्न गरिरहेका छन् ।
उत्कृष्ट २० मा छानिसकेका पोखरेलका लागि अब अघि बढ्न भोट आवस्यक पर्छ । यसका लागि उनले संसारभरका नेपालीहरुसँग भोटका लागि आह्वान गरेका छन् । उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै सबैसँग नेपाली भाषामा पनि भोट मागेका हुन् ।
अहिलेसम्म साथ दिएकोमा पनि धेरैलाई उनले धन्यवाद दिएका छन् । पोखरेलले भनेका छन्, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरुको भोटको आवस्यकता छ ।
तपाईँले टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सक्नुहुन्छ । एकजनाले ३० पटक भोट गर्न मिल्छ । यो नबिर्सिनुहोला । धेरै धन्यवाद ।’ पोखरेलले उक्त भिडिओमै अंग्रेजीमा पनि भोट अपिल गरेका छन् । अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो र एक्लो नेपाली गायक हुन् ।
उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए । ती गीतमा पनि उनले आफूलाई ‘आर्थर गन’को रुपमा नै चिनाएका थिए ।
पोखरेल काठमाडौंमा हुर्किएर उच्च शिक्षाका लागि अमेरिकामा परिवारका साथ बस्दैआएका छन् । यस बीचमा अमेरिकन आइडलका जज र अन्य प्रभावशाली संगीतप्रेमीले उनको गायनको निकै प्रशंसा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
