प्रदेश २ मा पीसीआर परीक्षणमा तीव्रता : ३ सय स्वाब संकलन
राजविराज : पीसीआर विधिबाट परीक्षण गर्न आएको प्राविधिक टोलीलाई घाँटीको स्वाब दिन सबैजना अन्कनाइ रहेका थिए । यत्तिकैमा एकजना शेख थरका ४४ वर्षीय इस्लाम धर्मावलम्बी अगाडि आएर घाँटी र नाकबाट स्वाब निकाल्न दिए।
नगर प्रमुख बसन्त मिश्रसहितका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले निकै बेर सम्झाउनु पर्यो । एकजनाले सुरुवात गरेपछि पालैपालो क्वारेन्टाइनमा बसेका कञ्चनरुपका ९ जना इस्लाम धर्मावलम्बीले आइतबार परीक्षणका लागि स्वाब दिए ।
उनीहरु अन्य कारणले नभई थुक निलिने पो हो कि भन्ने भयले स्वाब दिन अन्कनाएका थिए । सूर्योदयदेखि सूर्यास्तसम्म थुक पनि निल्न नहुने दिनभरको निराहार र निर्जला ब्रत अर्थात् रोजा (उपवास) बस्नु परेकाले उनीहरुले सुरुमा स्वाब दिन अप्ठ्यारो महसुस गरे ।
सूर्योदय हुनु करिब दुई घण्टा अगाडि केही खानेकुरा खाइ सुरु हुने रोजा सूर्यास्तपछि अफ्तारी गरी मात्र रोजा खोलिन्छ । शनिबारबाट सुरु भएको रमजानमा दिनभर अन्न र पानीसमेत नखाई उपवास बस्ने र ब्रह्मचर्यमा रहनुपर्ने परम्परा छ । यो अवधिमा मुखमा आएको थुक निल्न हुँदैन । निलियो भने रोजा टुटेको ठहरिन्छ ।
'सुरुवातमा धेरै जनालाई स्वाब लिदा थुक निलिने वा वान्ता आउने भय थियो, 'सप्तकोशीका जाहिर हुसेनले भने, 'तर त्यस्तो केही भएन।' एकजनाले सुरु गरेपछि सबैले पालैपालो स्वाब दिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाको सिनियर अहेव डम्बरप्रसाद गुप्ताले बताए । सामाजिक अभियानकर्मी अनवर अली भन्छन्,' रोजामा जानीजानी पो थुक निल्न हुँदैन, मन र शरीर शुद्ध राख्नुपर्छ, स्वाब दिन कसैले अप्ठ्यारो मान्नु पर्दैन ।'
आरडिटी परीक्षण भरपर्दो नभएपछि सप्तरीसहित प्रदेश २ मा स्वाब संकलन तीव्र बनाइएको हो । आइतबार सप्तरीको कञ्चनरुपस्थित क्वारेन्टाइनमा बसेका ९ सहित ४३ जना र सप्तकोशी नगरपालिकामा १ सय १० जनाको स्वाब निकालिएको छ । शनिबार सप्तरीको बोदे बसाईन नगरपालिकामा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरिएको थियो ।
त्यस भन्दाअघि राजविराजस्थित अस्पतालले संकलन गरेको ४७ वटा स्वाबकै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर विधिबाट परीक्षण तीव्र बनाएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले सर्लाहीमा शनिबार १ सय १६ जनाको स्वाब संकलन गरेको थियो । सिरहामा दुई दिनमा चार सय जनाको स्वाव संकलन गरिएको छ ।
सप्तरीको कञ्चनरुप र सप्तकोशी नगरपालिकामा संक्रमित पुष्टि भएका जमातीहरु केही दिन बसेका कारण परीक्षण गरिएको हो भने बोदे बर्साइनमा इस्लाम धर्मालम्बीको फागुन ३ देखि ५ गतेसम्म धार्मिक सभा 'इज्तिमा' भएका कारणले गर्दा परीक्षणको केन्द्र बनाइएको हो ।
एक लाख बढी सहभागी 'इज्तिमा' मा आएका नै जमातीका हैसियतले आफ्नो समुदायमा धर्म प्रचार गर्न विभिन्न मस्जिद गएका हुन् । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदबाट फेला परेका जमाती पनि इज्तिमामा सहभागी भई कञ्चनरुप, सप्तकोशीको मस्जिद हुँदै उदयपुर पुगेका हुन् ।
उदयपुरको भुल्केका एकै परिवारका पाँचजनामा संक्रमण देखिएकाले कोरोनाको संक्रमण जमातीहरुबाट नभई भारतबाट पढेर आएका सोही परिवारका एक विद्यार्थीबाट सुरु भएको भुल्केवासीले अनुमान गरेका छन् ।
तथापि निश्चित हुन जोखियुक्त रहेको सप्तरीको बोदे बर्साइन, कञ्चनरुप र सप्तकोशी नगरपालिकामा स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।