लकडाउनको फुर्सदमा हावाबाट बिजुली
बेनी : विश्वभर महामारीको रुपैयाँ फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको जारी लकडाउनका कारण धेरैजसो क्षेत्रका व्यक्ति काम नभएर/गर्न नपाएर फुर्सदिला छन्। बेनीका एक युवाले भने यही फुर्सदिलो समयलाई सिर्जनात्मक काममा लगाएर सफलता हात पारेका छन्।
म्याग्दीको बेनी नगरपालिका-७ भिमसेनटोलका दुर्गाप्रसाद श्रेष्ठले लकडाउनको समयलाई सदुपयोग गरी हावाबाट बिजुली निकाल्न सफल भएका छन्। म्याग्दी उर्जा प्रविधि केन्द्रका सञ्चालक श्रेष्ठले लकडाउनको फुर्सदलाई सदुपयोग गरेर हावाबाट बिजुली उत्पादन गरेका हुन्।
‘लकडाउन भएपछि व्यवसायिक काम रोकियो, फुर्सदको समयमा जानेको सीप सदुपयोग गरी स्थानीय प्रविधिको प्रयोगबाट हावाबाट बिजुली उत्पादन गरेको हो,’ उनले भने ‘हुन्छ की हुँदैन् भनेर गरिएको काम सफल भयो।’
श्रेष्ठले स्थानीय सामग्रीको प्रयोग गरी हावाबाट १०० वटा क्षमताको बिजुली उत्पादन गरेका छन्। सात मिटर अग्लो फलामको खम्बा ठडाएर स्टेशन बनाइएको छ। कालीगण्डकी नदीको किनार भएकाले सो ठाउँमा हावा चलिरहन्छ।
स्टेशनमा टिनको चारवटा पंखा जोडिएको छ। पंखाको तल तामाको तार बेरेर टर्वाइन बनाइएको छ। हावाले पंखासँगै टर्वाइन घुमाउँदा बिजुली उत्पादन हुन्छ। उत्पादन भएको बिजुलीले कोठाभित्र राखिएको ब्याट्री चार्ज हुन्छ।
पंखा उच्च गतिमा घुम्दा १०० वाट बिजुली उत्पादन भएको श्रेष्ठले बताए। हावा नलाग्दा पंखा घुम्दैन्। चार घण्टा पंखा चल्दा ब्याट्री चार्ज गरेर संञ्चित गरिएको बिजुली विभिन्न काममा प्रयोग गर्न सकिने उनले बताए। सो बिजुली उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न सकिन्छ।
हावाबाट बिजुली उत्पादन गर्ने प्रविधि तयार पार्न एक महिना समय लागेको श्रेष्ठले बताए। उनी एक्लैले काम गरेका थिए। श्रेष्ठका अनुसार पंखा, टर्वाइन, ब्याट्री लगायत उपकरण र ज्यालामा करिब एक लाख रुपैयाँ खर्च भएको छ। हावाबाट बिजुली उत्पादन गर्ने प्रविधिलाई बेनी बजार नजिकैको लभ्लिहिलमा राखिने उनले बताए।
श्रेष्ठले यसअघि २०७४ पुषमा बेनीस्थित कालीगण्डकी नदीमा बगिरहेको पानीलाई प्रयोग गरी पोल्ट्रिक सेट जडान गरी दुई किलोबाट विद्युत उत्पादन गरेका थिए। सो विद्युत बेनी बजारको सडक बत्ती बाल्न प्रयोग गरिएको थियो। श्रेष्ठ दुई दशकदेखि पेल्ट्रिक सेट, लघुजलविद्युत परियोजना निर्माण र मर्मतको काममा संलग्न छन्।