उदयपुरमा फौजीकिराको संक्रमण नियन्त्रणबाहिर
उदयपुर : अमेरिकन फौजीकिराको संक्रमण नियन्त्रणबाहिर जान थालेपछि त्रियुगा नगरपालिकाले नियन्त्रणका लागि प्रदेस सरकारसँग माग गरेको छ ।
विज्ञ र औषधिको अभावकै कारण संक्रमण रोक्न कठिनाइ भएको मेयर चौधरीको भनाइ छ । ‘एकातर्फ कोरोना भाइरसको समस्या छँदै छ, थप किसानको समस्या बढेको छ, त्यसैले दुबै संक्रमणलाई एकैसाथ कावुमा लिन गार्हो भयो,' उनले भने ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीकाअनुसार बेलका नगरपालिकाको वडानं १,२ र ३, चौदण्डीगढी नपाको ९ र १०, त्रियुगा नपाको ५,७,१३,१५ र १६, कटारी नपाको ४,५,६,१० र रौतामाईको २,४,५ र ७ मा संक्रमट देखापरेको छ । फौजीकीराले मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेको छ । देशभर लकडाउनको चिन्ता भइरहेको बेला किसानलाई भने फौजीकिराको चिन्ताले सताएको छ । भर्खर भुईं छोड्दै गरेको मकै, हरियो देखिँदै गरेको धान खेती र तरकारी खेतीमा फौजीकीराको संक्रमण देखिएपछि यहाँका किसान चिन्तित देखिएका हुन् ।
मेहनत गरेर लगाएको खेती धमाधम नष्ट हुँदै जानथालेपछि किसानलाई लकडाउनभन्दा पनि खेतीको चिन्ताले सताएको हो । मकै तथा तरकारीजस्ता हिउँदे बाली र डाले घाँसमा फौजीकीराले आक्रमण गरेर क्षति पुर्याउन थालेपछि किसानलाई भोकमारीको चिन्ता थपिएको प्रमुख रेग्मीले बताए ।
बालीको पात र जरा धमाधम किराले खान थालेपछि विरुवा मर्न थालेको उनको भनाइ छ । ‘मकैको बिरुवा र धान नै फौजीकीराको आक्रमणले सखाप हुन थालेको छ,' किसान महासंघका अध्यक्ष सोमबहादुर दनुवारले भने, ‘नियन्त्रण र क्षतिपुर्तिका लागि सरोकारवाला निकायले चासो दिनु पर्छ, हैन भने किसान भोक भोकै बस्नु पर्ने दिन आउन सक्छ ।'
डाले घाँसहरुमासमेत किराले आक्रमण गरेपछि पशुपालन गर्ने कृषक पनि यसको प्रत्यक्ष सिकार बनेका हुन् । चार साता अघिदेखि सुरु भएको फौजीकीराको प्रकोप नियन्त्रणमा आउन नसकेको उनी बताउँछन् । नियन्त्रणका प्रयास भए पनि पूर्ण सफल भइनसकेको ज्ञान केन्द्र गाईघाटमा प्रमुख रेग्मीले बताए ।
किराको प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर फौजीकीरा हो भन्ने यकिन गरेको रेग्मीले बताए । ‘केही मात्रामा विषादीसमेत उपलब्ध गराएको भए पनि त्यतिले मात्र नपुग्ने भएकाले स्थानीय तहहरूलाई समेत औषधि खरिद गर्नका लागि अनुरोध गरेका छौँ,’ रेग्मीले भने ।