नेपाली कवितामा कोभिड-लकडाउन

नेपाली कवितामा कोभिड-लकडाउन

२०२० मार्च २५को ‘द हिन्दु’मा अंशुया मेनन्को एउटा लेखमा कवि मास्करन बाराको यो भनाइ आयो— विपत्तिसँग जुध्नका लागि सधैँ दुई तरिका हुन्छन् र कविता सधैँ कष्टबाट पैदा हुन्छ। अब हामीसँग हाम्रा हाइकु र छन्दलाई तत्काल प्रसारित गर्ने सुविधा छ, किनकि तिनीहरू हामीसँग हुन्छन्। कवि जिना मेरी च्याकोले आफ्नो फेसबुक पोस्टमा केही कविता पोस्ट गर्दै लेखेकी छन्– महान् एकान्त (ग्रेट आइसोलेसन) ले जीवनका बारेमा केही कुरा सिकायो।

ड्यान फल्क २०२० मार्च २९ मा साइन्टिफिक अमेरिकन ब्लगमालेख्छन्—प्लेगको महामारीका क्रममा जब क्याम्ब्रिज विश्वविद्यालय बन्द भयो, न्युटन आफ्नो लिंकनसायरमा आफ्ना परिवारसँग बस्न आए। यसैबेला उनको रचनात्मकताको विचित्र विष्फोट भयो। यसैबेला उनले गुरुत्वाकर्षण, अप्टिक्स र क्यालकुलस जस्ता वैज्ञानिक आविष्कारको आधार तयार पारे। 

प्लेगकै महामारीमा सन् १६०६ मा जब लन्डनका थियटर बन्द भए, त्यस्तो महामारीको सदुपयोग गर्दै सेक्सपियरले ‘किङ लियर’, ‘म्याक्वेथ’ र ‘क्लियोपेट्रा’ जस्ता कृति लेखे।काँडाका बीच गुलाफ फुलेझैँ महामारीजन्य त्रास र विनाशबीच पनि आविष्कार र सिर्जनाको बाढी आउँदो रहेछ।

नेपाली कविहरूले कोरोना महामारीका समयमा गरिएको लकडाउनको अवधिका दुख र कष्टका एवम् सम्भावना र आशाका पक्षमा कलात्मक चित्रण गर्दै कविता सिर्जना गरेको र त्यस्तो कष्ट वा सम्भावनालाई कविहरूले आआफ्ना सशक्त हतियार (लय र छन्द)लाई अर्जाप्दै ग्रेट आइसोलेसन अर्थात् महान् ऐकान्तिक अवसरको भरपुर उपयोग गरेको पाइयो।

लकडाउनमा आआफ्ना घरभित्रै सेल्फ क्वारेन्टिनमा बसेका थुप्रै कविहरूका लागि यो एउटा महान् अवसर बनेर आएको देखिन्छ, प्राज्ञ डा. देवी नेपालले त ‘पागल’ खण्डकाव्य तयार भइसकेको कुरो फेसबुकबाटै सार्वजनिक गरे। समयक्रममाअरू कालजयी कृतिहरूको पनि अनावरण हुँदै जाला। तर मैले यहाँ मेरा फेसबुक मित्र कविहरूले पोस्ट गरेका र मैले मेरै सञ्जालका भित्तामा देखेका र भेटेका कोरोना विषयसम्बद्ध केही कविताहरूको मात्र यहाँ चर्चा गरेको छु। धेरै छुटेका छन्। 

कोभिड १९ मानव जातिका लागि कहर बनेर आए पनिकवि र साहित्यकारहरूका लागि उर्वर बनेर आउने प्रबल सम्भावना छ। 

कवि विनोदविक्रम केसीको फेसबुक वालमा‘लालबहादुर घरभित्रै छ’ कविता (२०७७वैशाख ७ मा नेपाल साप्ताहिकमा प्रकाशित) देखियो। उनले लेखेका छन्–ढुक्क हुनुस् सरहरू÷लालबहादुर÷कदापि–कदापि÷घरबाहिर निक्लनेछैन÷यो सहरको र एउटा सानो कोठामा र युगौँदेखि आइसोलेसनमा छ ऊ÷दुःख बालेर÷वेदनाको भात पकाएर÷खानेछ लालबहादुर÷तर, ऊ÷हात धुने सरकारी उर्दी मान्न÷असमर्थ छ÷त्यो घमन्डीले एकदिन मलाई भनेको थियो÷कविजी मेरा हात मान्छेका रगतले रंगिएका छैनन्÷मिचीमिची धोइरहनु पर्दैन÷।

कतिपय कविका विम्बहरूले दिल छुन्छन् भने कतिपय कविका विम्बहरूले दिमाग। कवि विनोदविक्रम केसीका कविताका विम्बले दिल र दिमागमा एकैचोटि आक्रामक रूपमा प्रवेश गर्छन् असमानता, कालोबजारी र विभेद विरोधी कथ्यलाई सघन तुल्याउँछन्– अवैधबजारले मास्कहरू गायब पारेको दिन÷उसले घोषणा गरेको थियो÷‘कविजी म स्वास्नीले रजस्वलामा प्रयोग गर्ने÷टालोलाई मास्क बनाउँछु÷।

लकडाउनजन्य भोकले तड्पिएकी सानी नानीलाई राज्यको आँखाका नानी खुल्ने गरी कवि कल्पना चिलुवालको नजर सानी नानीको पीडा बनेर पोखिन्छ, कवितामा। त्यसैले त उनले ‘लकडाउनकी सानी नानी’ कविता यही अप्रिल ८ मा दिउँसो एक बजे पोस्ट गरिन्, उनको कविताले ती सानीको अव्यक्त एवम् मार्मिक पीडालाई यसरी व्यक्त गरेको छ, ‘मेरा बाले कुनै बेला÷यो देशको नामुद÷ क्रान्तिकारीसँग हात मिलाउनु भएको थियो÷अब म सानी नानी÷माडसँग हात मिलाउन सकिन भने÷मृत्युसँग हात मिलाएर÷यो देशको भविष्यलाई र आफूसँगै लिएर जानेछु।’

लकडाउनका कारण सम्पूर्ण यातायात बन्द भई सहरले लखेटेपछि भोक र पीडाको लङमार्चमा हिँडेका जस्तामजदुरहरूको त्यो कष्टप्रद अवस्था देखेर कवि छविरमण सिलवालको हृदयमा उर्लेको करुणा र आक्रोशको भाव उनकै फेसबुक वालमा ( वैशाख ८ गते) चेतावनीपूर्ण लयमा यसरी पोखिन्छ, आँसुहरू÷जम्मा भएर÷जब भेल बनेर÷बग्न थालेपछि÷त्यो भेलले÷कसैलाई पनि÷चिन्दैन÷ए ! सावधान÷।

कवि मित्रलाल पंज्ञानीले अनुष्ठुप छन्दमा ‘कोही सक्तैन उम्कन’ कविता वैशाख ६ गते बिहीबार आफ्नो फेसबुकमा पोस्ट गरे। कवितामा मजदुरका पक्षमा अजेय क्रान्ति अवश्यम्भावी छ भन्ने प्रगतिवादी विचार सम्प्रेषण गरिएको छ। उनले आफ्ना कवितामा अहिलेको अनिश्चय र भविष्यको निश्चयबारे व्यक्त गरेको विचार उनकै कवितामा यसरी पोखिएको छ्, यो अनिश्चयको हावा चलेको रात हो सखा÷मान्छेको कल्पनाभन्दा परको बात हो सखा÷भावीको गर्भमा के छ ? भन्न सक्तैन क्वै पनि÷मान्छेको भविता के हो ? भन्न सक्तैन क्वै पनि÷तर यौटा कुरा पक्कै भन्न सक्तछ जो पनि÷यो व्यवस्था भयो डुब्ने पस्यो नूतन रोशनी÷।

कवि अमर गिरीको अप्रिल ९ मा उनकै फेसबुक टाइमलाइनमा पोस्ट भएको ‘ गाह्रो छ भन्न’ कविता पनि कोरोना महामारी र त्यो भन्दा अझै जब्बर रूपमा गरिबहरूका जीवनमा निम्त्याएको कष्टको महामारीको चित्रण यसरी गरिएको छ, सेयर मार्केटको ग्राफ÷निरन्तर घटिरहेको यस समयमा÷हेरिरहेछु दुःखको ग्राफ÷ कसरी उक्लिरहेछ माथिमाथि÷गाह्रो छ भन्न साँच्चिकै गाह्रो छ÷पहिले मरिनेछ भोकले वा कोरोनाले ?

राजु स्याङ्तानको २०७७ वैशाख ७ मा नेपाल साप्ताहिकमा प्रकाशित ‘दाइ हराएको सूचना’ स्याङ्तानकै फेसबुक वालमा छ। त्यसमा लकडाउनका समयमा बिचल्लीमा परेका र हराइरहेका मजदुरहरूको प्रतिनिधि विम्बका रूपमा ‘दाइ’ आएको छ। कवि कथ्यलाई यसरी प्रस्तुत गर्छन्— कहिल्यै स्कूल नटेकेको तिमीलाई÷लकडाउन भनेको थाहा भयो भएन÷सधैँ सहर बनाएर÷सहरबाट टाढा बस्ने तिमीलाई÷आइसोलेसन भनेको थाहा भयो भएन÷सधैँ अरुको घर बनाएर÷घर बाहिरै बस्ने तिमीलाई÷‘स्टे होम’ भनेको थाहा भयो कि भएन÷।

कवि वासुदेव अधिकारीले कोरोनासित प्रश्न (मार्च २५) कोरोना संक्रमितको बयान (मार्च २८) लगायत ‘प्रिय बन्दाबन्दी’ शीर्षकमा पोस्ट गरेका दर्जनभन्दा बढी कविता छन्। कोरोनाको महामारीका कहरभित्रबाट जीवनका सम्भावनालाई चियाउने उनका कविताको वैशिष्ट्य देखिन्छ। उनका केही कवितांश हुन्– अर्थात् हामी अँध्यारोको बिस्कुन छथ्र्याैँ÷खासमा यो हाम्रो भय थियो÷अत्यास थियो÷नानीदेखि लागेको बानी थियो÷अखिर तिमीले÷उज्यालो सन्देश पनि त ल्यायौ÷संघर्षका कथा पनि त सुनायौ÷कोभिड लडाइँमा÷हाम्री चेलीले जितिन् भनेर÷‘लडाइँ हल्लाले होइन÷ अनुशासनले जितिने रहेछ÷।उपचारपछि निको भएर गएकी कोरोना संक्रमितको खबरपश्चात् अधिकारीको यो कवितांशले निर्भयको सञ्चार गरेको अनुभूत हुन्छ। 

कवि रजनी ढकालले लकडाउनकै अवधिमा जीवनवादी कोण र सकारात्मक चिन्तनयुक्त कविता आफ्नो फेसबुक वालमा पोस्ट गरिन्।लकडाउनका कारण ठप्प भएको जीवनचर्यालाई गतिशीलता र चरैवेतिका कोणबाट उनले कोरोनालाई नियालिन्। उनको ‘पाइलाहरू’ शीर्षकको यस कविताका केही अंश यस्ता छन्– भाइरसको सन्त्रास÷प्रलयको पर्खाइमा÷मुख बाएर उर्लिरहेछ÷तर पनि÷छोडेको छैन÷आफ्नो धर्म÷र त हिँडिरहेछु !।

रजनीका कविताले कोरोनापछिको जीवन प्रकृति र पर्यावरणमैत्री हुने विश्वासबाट पर्यावरणीय चेतनाको सन्देशसमेत यसरी दिएको छ,सायद बनाउन÷अर्को वस्ती÷प्रकृति र मान्छेको समधारमा÷ध्यानस्थ छु यात्रामा÷र त चुपचाप छु आफैसँग÷जीवनरक्षाको खोज÷यी मनका पाइलाहरूसँग÷फेरि सुरु गरेको छु यात्रा ! 

कवि केवल बिनाबीको लकडाउनकै काल (वैशाख ८ गते) मा उनकै फेसबुक वालमा पोस्टकविताले एउटै मुलुकभित्र हिलो र माटो अर्थात् प्रकृतिसँग पौँठेजोरी खेलिरहेका एवम् उन्मुक्त ग्रामीण बालबालिका र सहरमा बोइलर जिन्दगी बाँचिरहेका बालबालिकाका बीचको भिन्नता देखाउन प्रयोग गरिएका स्यानिटाइजर, भाइरस र बोइलरविम्ब सन्दर्भ निकै वाचाल बनेर उपस्थित छन्, जस्तैः रछ्यानको पानीलाई कुलेसो बनाएर÷पानीघट्ट खेल्दै गर्दा÷कति भाइरससँग खेलियो– पत्तै भएन÷भैंसीगोठालो जाँदा÷भैसीसँगै आहलमा डुब्दै गर्दा÷कति ब्याक्टेरिया निलियो– थाहै भएन।... महाशय !÷स्यानिटाजरले हात धोएर मात्रै र छुने गर्छौ आफ्ना नानीहरू÷बोतलकैदूध÷पानी पिएर÷बोइलर जिन्दगी बाँचिरहेका÷तिम्रा नानीहरू ले÷यो धर्तीको माटो त झन्÷छोएकै छैनन्÷जन्मँदै आइसोलेसनमा या आईसीयूमा छन्÷तिम्रा नानीहरू।

यसरीकोरोना, क्वारेन्टाइन र लकडाउनले मान्छे घरभित्र बन्द भएपनिकविहरूको सिर्जनाको गति अर्थात्नेपाली कवितामा कोभिड ‘१९’ उर्फ लकडाउन अनवरत जारी छ।
कवि माधव घिमिरेले ‘पापिनी आमा’ कृतिमा ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल’ भनेका थिए। अब वैश्विक रूपमा र नेपालमा समेत सिर्जनाको विष्फोट नहोलाभन्न सकिन्न। यसै विगतका महामारीझैँ कोरोना कहरका कापबाट पनि नयाँ नयाँ कालजयी कृति जन्मून्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.