जोखिम मोलेर काम गर्ने सफाइकर्मीलाई सम्मान

जोखिम मोलेर काम गर्ने सफाइकर्मीलाई सम्मान

वीरगन्ज : कोरोनाको उच्च जोखिममा रहेका वीरगन्ज महानगरका सरसफाइकर्मीलाई शनिबार नागरिक स्तरबाट सम्मान गरिएको छ । कोरोनाको महामारीसँगै लकडाउनका बेला ज्यान जोखिममा राखेर सडक र नाला सरसफाइ गर्दै आएका सरसफाइकर्मीलाई खादा ओढाउनुका साथै फूलको गुच्छा दिएर सम्मान गरिएको हो । 

 
वीरगन्ज महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीहरुलाई उनीहरुको मनोबल उच्च राख्न आदर्शनगर ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रले सम्मान गरेको हो । शनिबार बिहान आदर्शनगर चोकमा केन्द्रका पदाधिकारी, सदस्य र समाजसेवीले सरसफाइकर्मीलाई खादा ओढाएर फूलको गुच्छा प्रदान गरेर सम्मान गरेका हुन् । 
 
वीरगन्ज महानगरपालिकामै कार्यरत एक सरसफाई कर्मचारीमा कोरोना संक्रमण फेला परेपछि महानरका सरसफाइ कर्मचारीहरु त्रसित छन् । 
 वीरगन्ज ३ छपकैया घर भएका वीरगन्ज महानगरपालिकाको सरसफाई कर्मचारीहरुका नाइकेमा बैशाख १४ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । संक्रमित ती व्यक्तिको वीरगन्जको नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।
 
महानगरका एक सरसफाइ कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि उनीसँगै काम गरेका अन्य कर्मचारीहरु पनि त्रसीत छन् । समाजले पनि आफूहरुलाई घृणाको दृष्टिले हेर्ने थालेको गुनासो आएपछि सरसफाइकर्मीहरुको मनोबल उच्च राख्न सम्मान गरिएको ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए । 
 
'कोरोनाको महामारी र लकडाउनमा हामी त घरमा छौँ, तर सरसफाइकर्मी ज्यान हत्केलामा राखेर सडक र नालाको सफाइमा अहोरात्र खटिएका छन्', खेतानले भने, 'त्यसमा पनि एक जनामा कोरोना देखिएपछि समाजले सबै सफाइकर्मीलाई घृणाको भावले व्यवहार गरेको देखेर मन दुखेको छ , समाजको त्यो गलत सोच र रवैयालाई बदल्न र सरसफाइकर्मीको मनोबल उच्च पार्न सम्मान गरेका हौँ।' 
 
कोरोना महामारी विरुद्धको लडाइमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई पनि सम्मान गरिने खेतानले बताए । महानगरका सरसफाइ कर्मचारी सरफुदिन मियाले भने एक जना सरसफाइ कर्मचारीमा कोरोना भएपछि समाजले सबै सरसफाइकर्मीलाई गलत नजरले हेर्न थालेका बेला गरिएको यो सम्मानले आफूहरुको मनोबल बढेको प्रतिकृया दिए ।
 
'विदेशमा सरसफाइकर्मीलाई फूलको वर्षा गरेर स्वागत गरिँदैछ',  उनले भने, ‘तर हाम्रो देशमा एक जनालाई कोरोना लाग्दैमा समाजले सबै सफाइकर्मीलाई घृणा गरिरहेका छन्, यस्तो मन दुखेको बेला यो सम्मानले अब थप हौसला जागेको छ, हामी अब निक्कै खुशी भएका छौँ ।' 

रन्जु देवी र सुमित्रा देवीले पनि महानगरपालिकाले ग्लोब्स, मास्क र बुट केही नदिएको बताए । ‘काम लगाएपछि गर्नैपर्यो, हामी त बाँचे भाग्यले बाँच्ने हो,’ सुमित्राले भनिन्। 
 
वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखामा १ सय ५० कुचिकार र २६ नाइके कार्यरत छन् । योसंगै महानगरको फोहोर व्यवस्थापनको ठेक्का पाएको पृथ्वी तारा एनके इन्टरनेसनल जेभीमार्फत पनि दुई सय ५० सरसफाइकर्मी कार्यरत छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.