लाखौँको तरकारी बारीमै कुहिए
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ४ का कृषक शिवजी निरौलाले गएको एक हप्तामा दुई लाखको तरकारी बारीमै कुहाउनु पर्यो । आम्दानी लिन सुरु भएपछि सरकारले लकडाउन (बन्दाबन्दी) घोषणा गर्दा उनले लगाएको तरकारी बिक्री गर्न नपाउँदा बारीमै कुहेको हो ।
सिजनको फल बजार पुर्याउन नपाउँदा साँवा रकम नै घाटा लागेको उनले बताए । उनले भने, ‘एक बिघा क्षेत्रफलमा काउली, काक्रा, खुर्सानी, बन्दा, बोडी, टमाटार लगाएको थिएँ, बजार लैजान पाइनँ सबै बारीमै कुहियो । कतिपय छिमेकीले त्यसै लगे, धेरैजसो पशुचौपायका लागि खोले बनाएँ। त्यति गर्दा पनि नसकिएपछि बारीमै सोतर भएर गयो।'
त्यसो त उनी मात्र हैनन् २५ बिघा जमिनमा कृषक समुहमार्फत सामुहिक वगर खेती गर्दै आएका त्रियुगा नगरपालिका १३ भातिखर्कका भगवानसिंह चौधरीले पनि दुई लाख बढी घाटा व्यहोर्नु पर्यो ।‘उत्पादन धेरै भयो, बिक्री गर्ने समयमा लकडाउनले बजार पुर्याउन पाइएन', यस्तो हुन्छ भन्ने थाहै भएन, कुहिएको तरकारी देखाउँदै भन्छन्, ‘मुनाफा त परै जाओस्, साँवासमेत नउठ्ने भयो ।'
गत माघ महिनामा २५ जनाको समुह बनाइ संयुक्त कृषक समुहमार्फत तरकारी खेती सुरु गरेका चौधरीले वगरे खेतीमा तर्वुजा, काँक्रा, लौका, फर्सी र करेला लगाएका छन् । बिक्री गर्न नपाएपछि लाखौँको तरकारी नष्ट भएको उनको भनाइ छ ।
यी दुई जना प्रतिनिधि पात्र मात्र हुन् बेलकाका राजु तुलाधार, हरिनन्द चौधरी, श्याम बिष्ट, त्रियुगा नपा क्षेत्रका भगवानदास चौधरी, विभिषण चौधरी लगायतका किसानले लगाएको तरकारी खेती लकडाउनकै कारण बारीमै कुहिएको छ।
किसानले एकातर्फ लगाएको बाली टिपेर बिक्री गर्न पाएका छैनन् भने अर्कोतर्फ किसानले उब्जानी नै लगाउन पाएका छैनन् ।
लकडाउनले गर्दा चैते धान र मकै किसानले अझै रोप्ने नपाएको बताएका छन् । कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख नरनाथ रेग्मीकाअनुसार अझै १० प्रतिशत चैतेधान लगाउन बाँकी छ । बन्दाबन्दीले किसान खेतीमा जान नपाएपछि खेत बाँझै रहेको उनको भनाइ छ । जटिल परिस्थितिले किसानले लगाएको तरकारी बारीमै छोड्नु पर्ने भएकाले सरकारले राहतको प्याकेज ल्याउनुपर्ने बताए ।
व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका यहाँका किसानले उत्पादित तरकारी सरकारले नै खरिद गरिदिनु पर्ने अन्यथा क्षतिको राहत दिनु पर्ने बताएका छन् । उनीहरुले आम्दानी लिने बेलामा सधैँ मुल्यको गिरावट, बन्दहडताल जस्तो समस्याले किसान मर्कामा पर्ने गरेको बताएका छन् ।