नेपाली भाषाका उपासक गुरु टीकादत्त बराल

नेपाली भाषाका उपासक गुरु टीकादत्त बराल

विसं २०२६ भदौ महिनाको तीजको दर खाने दिन। त्यस दिन पंक्तिकारको दाजु सीताराम अधिकारी स्कटल्यान्डबाट रसायनशास्त्रमा पीएचडीको डिग्री हासिल गरेर काठमाडांै फर्कंदै हुनुहुन्थ्यो। ठीक तीन वर्षपछि सफलता हासिल गरी फर्कंदै गर्नु भएका दाजुलाई गौचरण (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)मा लिन जाने अन्य परिवारका सदस्यसरह मेरो पनि उत्तिकै चाहना हुने नै भयो। तर, त्यस्तो दिनमा पनि मेरो मन त्रिचन्द्र कलेजको बीएको नेपाली विषयको टयुटोरियल कक्षा छोडेर सोझै गौचरण जान इच्छा भएन। कारण थियो – टयुटोरियल कक्षामा गुरुले दिएको पाठ बुझाउन र थप ज्ञान पाउने अवसरबाट वञ्चित नहुने तीव्र अभिलाषा आफूमा भएका कारण। म स्वयं साधारण स्तरको विद्यार्थी थिए। तर, असल र योग्य गुरुको संगतबाट एउटा साधारण छात्रले पनि कति हासिल गर्न सक्छ भन्ने त्यसबेलामा नै मैले बुझ्ने अवसर पाएको हुँ।

तीन वर्षपछि दाजु घर फर्कंदा पनि टयुटोरियल कक्षामा उपस्थित हुन मोहित पार्न सक्ने क्षमताका ती नेपाली विषयका गुरु हुनुहुन्थ्यो टीकादत्त बराल। त्यसबेला नेपालीका दुई धुरन्धर गुरुले हामीलाई नेपाली विषय पढाउनु भएथ्यो। तीमध्ये डा. धु्रवचन्द्र गौतम र टीकादत्त बरालको स्मरण नगरिरहन सकिन्न। धु्रवचन्द्र गौतम उपन्यास, कथा समेतका विधाका चर्चित लेखक मात्र हैन, उहाँले कक्षा लिँदा कक्षा निःशव्द हुन्थ्यो। कुनै चुलबुले विद्यार्थीले केही अर्घेल्याइँ गर्‍यो भने प्रत्यक्षरूपमा हैन, पहिले केही सोध्नु छ भन्ने र त्यसपछि सानो कथा हालेर त्यस्ता विद्यार्थीलाई मर्मान्त पारेर अनुशासित पार्ने कलामा धु्रवचन्द्र गौतम सर अग्रणी हुनुहुन्थ्यो। बोलीचाली, भाषाको हिसाबले कक्षाकोठामा त्यस्तो प्रभाव नपारे पनि केही सिक्न खोज्ने विद्यार्थीको लागि टीकादत्त बराल सर साह्रै भरपर्दो हुनुहुन्थ्यो। संयोगले टीकादत्त बरालका टयुटोरियल कक्षाको विद्यार्थी भई पढ्ने र केही सिक्ने मौका पाएँ– जसको कारण नेपाली भाषामा दुईचार शब्द, वाक्य लेख्न जानेको गुरुकै आशीर्वादको कारण हो भन्ने मैले ठानेको छु।

सुरुमा आईएस्सी वा पछि स्नातक तहमा पढ्दा सुरुदेखिको मेरो एउटा वानी थियो – बढीभन्दा बढी पुस्तक पढ्ने। पुस्तकमा नेपाली साहित्यका धुरन्धर लेखक कविका अतिरिक्त हिन्दीमा लेखिएका राम्रा लेखकहरूका उपन्यास मैले पढेको छु। साथै प्रज्ञा प्रतिष्ठानबाट छापिएका अनुदित कृति पनि चाख लिएर पढेको छु। जासुसी उपन्यास, भूतनाथ आदि रोमाञ्चकारी पुस्तकदेखि रोमान्टिक खालका मधुमालती, अकवर वीरबल संवाद आदि पढेको छु। अंग्रेजीमा लेखिएका पुस्तक पनि नपढेको हैन – तर, अंग्रेजीको एउटा पुस्तक पढ्दा नेपाली–हिन्दीका ५–७ वटा पुस्तक पढ्न भ्याउने गरेको सम्झना ताजै छ। केही पुस्तक पढेको कारणले आफ्नो मनमा सायद केही झुठो अभिमान पनि जागेको हुनुपर्छ।

त्यसैले केही लेख्न बस्दा लामो वाक्य लेख्ने, वाक्यभित्र मिले पनि नमिले पनि अरूले नबुझोस् भनेर कडा शब्द लेख्ने गर्दो रहेछु। टयुटोरियल कक्षामा बराल सरले भाषामा व्याकरणको महत्तव मात्रै सम्झाउनु भएन, छोटो, छरितो वाक्य लेख्नमा मलाई प्रोत्साहित गर्नुभयो। उहाँ भन्ने गर्नु हुन्थ्यो – भाषा सम्प्रेषणको माध्यम हो। तपाइँले लेखेको कुरा अर्कोले बुझेन–बुझ्न सकेन भने त्यसमा पाठकको मात्र असफलता हुँदैन, लेख्नेको पनि असफलता हुन पुग्छ। त्यसैले लेख्दा छोटा, सोझो र सरल शब्दको चयन भएमा त्यस्तो लेखनीले मन छुन्छ।

प्रत्येक टयुटोरियल कक्षामा उहाँले दिनु भएका ‘टिप्स’ बाट म मोहित बनेको थिएँ। उहाँले मेरो नेपाली भाषामा गर्नु भएको सुधारको बलमा आज पनि दुईचार शब्द, वाक्य लेख्न सक्ने भएको छु।

मैले २०२७ सालमा स्नातक गरें। संयोगले २०२८ सालमा हाम्रो बानेश्वरको घरको सँधियार भएर टीकादत्त सरले जग्गा किन्नुभयो। त्यसपछि घर बनाएर जीवनको अन्तिम अवस्थासम्म त्यहीं बस्नुभयो।

त्रिचन्द्र कलेजबाट उहाँ प्रशासन सेवामा सरुवा भई केही समय काम गरी निवृत्त भएपछि बराल सर काठमाडांै विश्वविद्यालयको प्राध्यापनलगायत प्रशासकीय कार्यमा संलग्न हुनुभयो र काठमाडौं विश्वविद्यालयको जगमुनिको ढुंगा भएर लामो अवधिसम्म टेवा दिनु भयो।

टीकादत्ता सरले आफूले जे लेख्नुभयो, त्यसमा प्रशंसा खोज्नु भएन। उहाँ कहिल्यै प्रचारमुखी हुनु भएन। न त उहाँले आफ्ना ग्रन्थको ‘मार्केटिङ’ गर्ने कुनै कोशिस नै गर्नुभयो। राज्यका प्राज्ञिक संस्थाहरूलाई टीकादत्त सरको यी कार्यबारे जानकारी छ–छैन त्यो थाहा भएन।

सँगसँगै टीकादत्त सरले २०६८ सालमा आफूले नेपाली भाषामा लेखेका दुइटा कृति प्रकाशित गर्नुभयो। त्यसमध्ये पहिलो श्रीमद् भगवद्गीता (नेपालीमा पदार्थ तथा भावार्थ र भाव वोधनी व्याख्या सहित) को अनुवाद पर्छ। ६७४ पृष्ठको यो पुस्तक संस्कृत नबुझ्नेका लागि निकै उपयोगी छ। गीताको प्रत्येक श्लोक संस्कृतमा जस्ताको तस्तै राखिएको छ भने श्लोकको शब्दहरूको अर्थ त्यसपछि दिइएको छ। शब्द–शब्दको नेपाली अनुवाद पछि श्लोकको जस्ताको तस्तै अर्थ लाग्ने गरी भाव प्रकट गरिएको छ।

त्यसपछि मात्र अनुवादकले आफ्नो टिप्पणी गर्नु भएको छ, जसलाई अनुवादक स्वयंले ‘भावबोधनी व्याख्या’ भन्न रुचाउनु भएको छ। आफूजस्ता संस्कृतको ज्ञान नभएका व्यक्तिका लागि गीताबारे प्रारम्भिक ज्ञान प्राप्त गर्न यो निकै उपयोगी रहेको आफूले ठानेको छु। गीताका सम्बन्धमा छिटपुट लेख–लेखादी पढे पनि मैले आफ्नो आमाले पढ्ने गरेको कोमल गीता पछि पढ्ेको गीताको भावानुवाद भूचन्द्र वैद्यको नै हो। भूचन्द्र वैद्यको गीता साह्रै सरल र बोधगम्य लाग्यो मलाई। त्यसपछि २०६८ सालमा प्रकाशित तर निकै पछि पढेको टीकादत्त बराल सरको गीताले मेरो मनमा अन्य गीतामाथि गरेको टिप्पणी अध्ययन गर्ने भोक जगाएको छ। त्यस भोकका कारण मैले गान्धीजीको गीतामाथिको टिप्पणी पढ्ने शोच बनाएको छु।

गान्धीको गीताको टीका पढ्ने कारण पनि यसै क्षण बताउन चाहन्छु। गीताको बारेमा बीपी कोइरालाको लेखनीमा प्रशंसाभाव पाएको देखिन्न। तर, गान्धी गीताबाट धेरै प्रभावित (सकारात्मक शोचका साथ) हुनुहुन्थ्यो भन्ने मैले ठाउँठाउँमा पढेको छु। बीपी कोइरालाले उपन्यास, कथाहरूका आफ्ना पात्रहरूद्धारा मानवीयताको पक्षमा सदैव वकालत गराउनु भएको छ। आत्मा र शरीरका बीचमा द्धन्दात्मक छलफल चलाउनु भएको छ। युद्घ र शान्तिको बीचमा शान्तिको पक्षमा रहनु भएको छ। सुरुमा क्रान्तिकारी छविका बीपी अन्ततः गान्धीको छेउछाउ पुगेको देखिन्छ। तर, गीता दर्शनका बारेमा यी दुईबीचको अन्तर छ वा छैन भन्ने बुझ्न एकपटक गान्धीले गीताबारे लेखेको टीका नपढी नहुने भएको छ। टीकादत्त सरले अनुवाद गरेको श्रीमद् भगवद् गीतामा पनि गान्धीलगायतको गीताको उल्लेखनले पनि ती टीका पढ्न मलाई उक्साएको छ।

गीताको अनुवाद मात्र हैन, नेपाली भाषामा लेखिएका दुइटा पुस्तक टीकादत्त सरले नेपाली मात्रलाई दिनु भएको छ। २०६८ सालमा नै प्रकाशित ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोष’ र २०७६ सालमा प्रशाशित ‘तदभव नेपाली व्युत्पत्ति शब्दकोष’ यी दुई ग्रन्थका लेखक÷सम्पादक टीकादत्त सर हुनुहुन्छ। यी प्रत्येक शब्दकोष १००० पृष्ठभन्दा बढीका छन्। यो लेख्न÷सम्पादन गर्नमा कति समय, परि श्रम पर्‍यो होला सामान्यतः अनुमान गर्न सकिने कुरा हैन। ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोश’ तयार गर्न कति समय लाग्यो लेखकले स्पष्ट पार्नु भएको छैन। तर, दोस्रो शब्दकोश तयार गर्न लेखकले छ वर्षको निरन्तर अनुसन्धान तथा परि श्रमबाट सम्भव भएको बेहोरा उल्लेख गर्नु भएबाट दुवै ग्रन्थ तयार गर्न बाह्र वर्ष लागेको सहजै अनुमान गर्न सकिन्छ।

‘तत्सम’ भन्ने शब्दले संस्कृत भाषाबाट नेपाली भाषामा आएको शब्दहरूको विवेचना गर्छ। टीकादत्त सरले आफ्नो अग्रजले गरेका कामको यथोचित सरहाना मात्र गर्नु भएको छैन कि उहाँले शब्दकोष तयार पार्दा सम्बन्धित विद्घानहरूलाई पनि यथास्थानमा उहाँहरूको कार्यलाई महत्तव दिनुभएको छ – जुन कुरो नेपालका ‘बुद्घिजीवी’ भन्नेहरूमा कमै देख्न÷सुन्न पाइन्छ। यस मानेमा टीकादत्त सरको उदात्त चित्रको परिचय पनि यसले दिन्छ।

‘तद्भव’ भन्ने शब्दको अर्थ लेखकबाट नै सापटी लिएर उद्घृत गर्न चाहन्छु। लेखक लेख्नुहुन्छ – ‘तद्भव’ को शाब्दिक अर्थ हो – ‘तसमात् भव’ त्यसबाट निष्पन्न या उत्पन्न। त्यसैले तद्भव भन्नाले संस्कृत भाषावाट उत्पन्न भाषा भन्ने हुन्छ। नेपालीसहित आधुनिक भारतीय भाषाका तद्भव शब्दहरू यसै वर्गमा पर्छन्। नेपाली भाषामा पाइने तद्भव त्यस्ता शब्द हुन् जुन संस्कृत शब्दको मूलरूपमा ध्वनि परिवर्तन आदि कारण रूपान्तरित भई अर्थात मूलरूप बदलेर नेपालीमा आएका छन्।’ संस्कृतबाट अपभ्रंश भई नेपाली प्रत्ययको मेलबाट आएका शब्द तद्भव हुन्। उदाहरणका लागि ‘खुर’ संस्कृत शब्द हो। अपभ्रंश भई ‘खोर’ बन्यो। नेपालीमा प्रत्यय जोडिँदा ‘खोर्‍यात’÷खोरेंत हुन पुग्यो।

संस्कृतको ज्ञाता नभई गुरु टीकादत्तले तैयार गर्नु भएका तत्सम र तद्भव विषयका शब्दकोषमाथि टिप्पणी गर्ने पंक्तिकारको हैसियत छँदैछैन। तर, यो पुस्तकलाई सन्दर्भ ग्रन्थका रूपमा लिनुपर्ने विषयमा विद्घानहरू डा. सुरेशराज शर्मा, डा. चूडामणि वन्धु, डा. माधव प्रसाद पोखरेल, डा. दुर्गाप्रसाद दाहाल एकमत देखिनुहुन्छ। त्यसैले यी ग्रन्थ नेपाली भाषाका अमूल्य निधि हुन् भन्नेमा दुई मत हुन सक्दैन।

यी ग्रन्थका अतिरिक्त अन्य फुटकर लेख कविता रचना पनि टीकादत्त सरले धेरै लेख्नुभएको छ। लक्ष्मीप्रसाद देवकोटासम्बन्धी समीक्षात्मक लेख रचना जो प्रकाशित भइसकेको छ– तिनलाई पनि एउटै पुस्तकमा ल्याउने काम बाँकी छ।

विक्रम संवत १९९२ जेठ २५ गते जन्मनुभएका प्राध्यापक टीकादत्त बराल २०७७ साल वैशाख १२ गते शुक्रबार राती पौने एघार बजे स्वर्गे हुनुभयो। दुई वर्षअघि क्यान्सर रोगबाट पीडित उहाँका धर्मपत्नीका अतिरिक्त दुई छोरा एक छोरी हुनुहुन्छ। निधन हुनुअघिसम्म पनि उहाँ श्रीमद् भागवतको दशौं अध्यायको सम्बन्धमा आफ्नो टिप्पणी लेख्दै हुनुहुन्थ्यो भन्ने जानकारी मैले पाएको छु।

– टीकादत्त सर हाम्रा माझमा हुनुहुन्न। उहाँले नेपाली भाषामा जुन ग्रन्थ लेखेर छोडनु भएको छ – त्यसले नेपाली भाषाको ठूलो रिक्तताको पूर्ति गर्छ भन्नेमा सन्देह छैन। उहाँले आफंैले जे लेख्नु भयो – त्यसमा प्रशंसा खोज्नु भएन। टीकादत्त सर प्रचारमुखी हुनु भएन। न त उहाँले आफ्ना ग्रन्थको ‘मार्केटिङ’ गर्ने कुनै कोशिस नै गर्नुभयो। राज्यका प्राज्ञिक संस्थाहरूलाई टीकादत्त सरको यी कार्यबारे जानकारी छ–छैन त्यो थाहा भएन। एउटा कुरा भने अकाटय छ– जीवनभर टीकादत्त सरले कर्म भने गरिराख्नु भयो– कर्म पनि झण्डै निष्काम कर्म– जुन गीताले देखाएको बाटो हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.