लकडाउनमै ६ हजारभन्दा धेरै भित्रिए
मुगु : लकडाउनकै समयमा ६ हजारभन्दा बढी नागरिक जिल्ला भित्रिएका छन्। विभिन्न जिल्लामा अलपत्र परेका नागरिकलाई स्थानीय सरकारले उद्धार गर्न थालेपछि संख्या बढ्दै गएको हो। जिल्लाका चारवटा स्थानीय तहमध्ये तीनले लकडाउनमै ६ हजार सात सय ६५ नागरिक जिल्ला भित्र्याएका हुन्।
कर्णाली प्रदेश सरकारसँगको समन्वयमा जिल्लाका छायाँनाथ रारा नगरपालिका तथा सोरु र मुगुम कार्मारोङ गाउँपालिकाले नागरिक उद्धार गरी जिल्ला ल्याएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश विकले बिहीबार मात्रै काठमाडांैबाट छायाँनाथ रारा नगरपालिकाले १२ र सोरु गाउँपालिकाले १२ गरी २४ वटा बसमार्फत आठ सय ६५ जना जिल्लामा भित्र्याएको हो। पूर्वसांसद नवराज धामीको नेतृत्वमा उनीहरू जिल्ला भित्रिएका हुन्। उनका अनुसार प्रत्येक बसलाई काठमाडौंबाट मुगुसम्म एक लाख ४५ हजारमा रिजर्भ गरिएका हुन्।
जिल्लाका अन्य स्थानीय तहले आफ्ना नागरिक उद्धार गरे पनि खत्याड गाउँपालिकाले भने नागरिक बसेकै ठाउँमा राहत दिने व्यवस्था गरेको छ।
प्रदेश तथा स्थानीय तहले धमाधम नागरिक उद्धार गरी जिल्ला पठाएका छन्। तर संघीय गृह मन्त्रालय र स्थानीय प्रशासनसँग कुनै समन्वय गरिएको छैन। काठमाडौं, सुर्खेत, नेपालगन्जदेखि धेरै नागरिक उद्धार गरिएका छन्। भने भारत तथा तेस्रो मुलुकबाट पनि जिल्ला भित्रिनेको संख्या बढेको छ।
यसरी जिल्ला भित्रिनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हो। तर क्वारेन्टाइनमा समेत बस्दैनन्। सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले धमाधम नागरिक उद्धार गरिएकोबारे कसैले समन्वय नगरेको जानकारी दिए। यता छायाँनाथका प्रमुख हरिजंग शाहीले उद्धार गरिएका नागरिकलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको बताए।