नदोहोरियोस् सत्ता संकट
नेकपाभित्र केही पात्रले गुटगत डुंगा फेरबदल गरेसँगै सत्ता संकट टरेको छ। अझै नेतृत्व तहबाटै पूर्णतः सन्तुष्टि व्यक्त नभएको पृष्ठभूमिमा यो समाधान पनि ‘हालका निम्ति’ मात्रै हो कि भन्ने शंका यथावत् छ। कोरोना महाविपत्तिबीच सत्तारुढ दलभित्र एकाएक उत्पन्न विग्रहले चर्को रूप लिँदै गर्दा मुलुक अव्यवस्थाको सुरुङतिर प्रवेश गर्ने त होइन भन्ने आम आशंका केही हदसम्म निवारण भएको छ। प्रतिकूल परिस्थितिमा दुईसाता चर्किएको सत्ता विवाद ‘दृश्यमा टुंगिनु’ सकारात्मक मान्नुपर्छ।
नेताहरूबीच झन्डै-झन्डै चुल्हो-चौका फरक गर्ने पृष्ठभूमि पैदा भइसकेको थियो। झगडाको असर तलैसम्म पुगेको छ। अझ बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालका अभिव्यक्ति सुन्दा संकट जीवित रहेको शंका गर्ने पनि छन्। ओली-दाहाल मिलापको संकेत गर्दै ‘दुई नेताको चोचो-मोचो मिल्दैमा समस्या समाधान भइहाल्यो भन्ने सोचेको हो भने त्यो म मान्दिन’ भन्ने नेपालको बोली पनि ‘अर्थपूर्ण’ छ। उनको त्यो खुला चुनौती हेर्दा भोलिका दिनमा नयाँ रूपमा झगडा पुनर्जीवित हुने सम्भावना यथावत् छ।
जेहोस्, सचिवालय बैठकमा प्रधानमन्त्री र शीर्ष नेतृत्वबाट ‘आत्मालोचना’ पनि आएको छ। त्यसो हुनुमा निर्णय र झगडा गलत थिए भन्ने प्रमाणित हुनु पनि हो। अब आ-आफ्ना कमजोरीको आत्मालोचना गर्नु र कमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्घता जनाइनु सकारात्मक विषय हुन्। त्यसो त, कम्युनिस्ट पार्टीमा ‘आत्मालोचना’ अनुशासनमा बाँध्ने अचूक अस्त्र मानिन्छ। त्यसपछि हरेक किसिमका कर्मबाट शुद्घीकरण भएको ठानिन्छ। प्रधानमन्त्री र नेताहरूबाट ‘आत्मालोचना’ आएको पृष्ठभूमिमा तत्कालै दुवैतिरबाट अस्वाभाविक झमेला निम्तिदैन कि भन्ने अनुमान लगाउन सकिन्छ।
सत्तारुढ दलभित्र यसरी सहजै संकट नटरेको भए त्यहाँभित्र २०५२-२०५४ को ‘राप्रपा चरित्र’ पुनरावृत्तिा हुने खतरा देखापरिसकेको थियो। दुईतिहाइकै सरकारले विपक्षी दल फुटाउनेदेखि सांसद ‘अपरहण’ को नाटकसमेत मञ्चन भइसकेको थियो। पार्टीभित्रै गुटगत किनबेचको शृंखला चल्ने स्थिति पैदा भएकै थियो। अब सत्तारुढ राजनीतिमा तत्काल त्यस्तो दृश्य हेर्नु र सुन्नुपर्ने छैन भन्ने अपेक्षा गर्न सकिन्छ।
‘सत्ता र शक्ति’का अगाडि महाविपत्ति अर्थहीन हुँदोरहेछ राजनीतिकर्मीका निम्ति। नत्र चारैतिर कोरोना आतंकबीच पनि दुई सातासम्म सत्ता तमासामा अल्झिँदा तिनलाई लाज र ग्लानि हुनुपर्ने थियो। तिनीहरूमा त्यसको झिनो संकेत देखिएन। सत्तारुढ दलमा उत्पन्न विवाद वैचारिक थिएन। केवल तिनमा आफ्नै व्यक्तिगत पद-प्रतिष्ठाको चिन्ता र भागवन्डाको विवाद भएको ‘समाधान अस्त्र’ले नै देखाउँछ। नेतृत्वबीच संवादहीन कार्यशैली, अपारदर्शी क्रियाकलाप, कसैलाई सिध्याउनैपर्छ, किनारामा धकेल्नैपर्छ भन्ने एकांगी चरित्रको उपज हो पछिल्लो शक्ति संघर्ष।
एमालेमा २०५२ पछि हरेक विवाद ‘केन्द्रविन्दु’ मा वामदेव गौतमको ‘महत्तवकांक्षा’ कारक बन्छ। यसपालि पनि उनकै ‘महत्तवकांक्षा’ पूर्ति हुने भएपछि झगडा मत्थर भएको छ। यद्यपि त्यो ‘उधारो’ मै छ। तिनले आफ्नो चाहना पूरा नभएमा फेरि वितन्डा पैदा गराउन सक्छन्। नेकपाभित्र उत्पन्न पछिल्लो झगडाको बीउ उनकै निवास भैंसेपाटीमा रोपिएको होे। उनलाई प्रतिनिधिसभा सदस्यमा चुनाव लडाउने र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उत्तराधिकारी’ बनाउने ‘अनौपचारिक सहमति’ मा समीकरणमा फेरबदल भएको हो। यद्यपि त्यो विषय सचिवालय बैठकमा खुलस्त आएन। अब गौतमले बालुवाटारमै बीउ रोप्न त पहिला प्रतिनिधिसभा सदस्य निर्वाचित हुन सक्नुपर्छ। त्यो सहज हुने देखिन्न। किनभने यसअघि पनि पटक-पटक उनका निम्ति ठाउँ छाड्ने र चुनाव लड्ने प्रसंग आउँदा आमजनमत त्यसविरुद्घ उभिएको थियो। चुनाव लडेकै खण्डमा पनि पार्टीभित्र घात-अन्तर्घात सिकार बन्न सक्नेछन्।
राजनीतिक स्थिरता र समृद्घिनिम्ति नेकपालाई जनमत मिलेको हो। झगडा साम्य भएसँगै प्रधानमन्त्रीका निम्ति फेरि एकपटक अवसर प्राप्त भएको छ। पुराना गल्ती दोहोर्याइयो भने विध्वंश निम्तिने निश्चित छ। जब अहंकार र दम्भ पूर्तिमा सत्ताको दुरूपयोग गरिन्छ, तब निश्चय त्यो पतनकै बाटोतिर मोडिन्छ। विश्व इतिहासकै नियति पनि त्यही हो। अब प्रधानमन्त्री र सत्तारुढ दलले त्यसबाट पाठ सिक्नुपर्छ। अब सिंगो शक्ति महाविपत्तिबाट मुलुकलाई कसरी जोगाउने भन्नेमा केन्द्रित हुनुपर्छ।