क्वारेन्टाइन बसेकालाई स्वास्थ्य परीक्षण गरी घर पठाइयो
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिकामा राजधानी काठमाडौबाट आएका ९९ जनालाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरी घर पठाइएको छ । काठमाडौंबाट आएर १४ दिनसम्म एकान्तबासमा बसेका उनीहरुलाई मंगलबार स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर पठाइएको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीको प्राविधिक सहयोगमा मुना, ताकम र मराङमा स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । चितवनबाट आएका ताकमका ६, लुलाङका ५, मुनाका ३ जनालाई भने १४ दिनको अवधि पुरा नभएकाले घर पठाइएको छैन् ।
खोरीया आधारभूत, धौलागिरी आधारभूत र धनजनता माविमा बसेका ४३ जनाको मुनामा परीक्षण गरिएको थियो । भूमे आधारभूत, हेम मावि र ताकम माविको एकान्तबासमा रहेका ४८ जनाको ताकममा स्वास्थ्य परीक्षण गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
मराङको जनविकास आधारभूत विद्यालय आरबाङको क्वारेन्टाइनमा बसेका मराङ र मल्कवाङका ८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । लकडाउनका कारण काठमाडौं, पोखरा, चितवन, बुटवललगायत सहरी क्षेत्रमा फसेका विद्यार्थी, विभिन्न पेशा व्यवसाय गर्ने व्यक्ति गाडीको व्यवस्था गरेर गाउँमा आएका थिए ।
कोरोनाको जोखिम न्युनीकरण र शंका हटाउन एकान्तबासमा राखेर स्वास्थ्य परीक्षण गरेपछि घर पठाइएको हो । एकान्तबासमा बसेकाहरुलाई गाउँपालिकालेनै खाने बस्नेको व्यवस्था मिलाएको थियो ।
कोरोना कोषमा बेनी नगरको सवा चार लाख
बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा जनप्रतिनिधि र कर्मचारीहरुले चार लाख २४ हजार रुपैयाँ जम्मा गरेका छन् ।
कोषमा नगर प्रमुख हरिकुमार श्रेष्ठले ५१ हजार सहित उपमेयर सञ्जु बरुवाल लगायत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुबाट दुई लाख ५८ हजार ७१० र कर्मचारीहरुले एक लाख ६५ हजार ५५५ रुपैयाँ जम्मा गरेका कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताए ।
कोषमा स्वच्छिक रुपमा सहयोग गर्न संघ संस्था र दाताहरुलाई अपिल गरेको छ । 'हामी आफैले योगदान गरेर कोषमा रकम जुटाउन सुरु गरेका छौ,' उनले भने, 'कोरोनाको महामारीविरुद्ध लड्नका लागि समाजमा रहेका सबैबाट सहयोगको अपेक्षा राखेका छौं ।'
कोषमा नगरपालिकाले एक करोड रुपैयाँ बिनियोजन गरेको छ । सो कोषको रकम कोरोना रोकथाम, नियन्त्रण, स्वास्थ्य सामग्रीको खरिद, व्यवस्थापन, आइसोलेसन निर्माण, क्वारेन्टिन स्थापना, सञ्चालन र राहतका काममा परिचालन हुने नगरपालिकाले जनाएको छ ।
यसैगरी वन डिभिजन कार्यालय म्याग्दी र मातहतका सब डिभिजन कार्यालयमा कार्यरत ३० जना कर्मचारीहरुले तीन दिनको तलब बराबर ७९ हजार १९६ रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोरोना रोग रोकथाम नियन्त्रण व्यवस्थापन कोषमा जम्मा गरेको छ ।