भुल्केका ३३४ जनाको नमुना संकलन
उदयपुर : त्रियुगा नगरपालिका-३ भुल्केमा बुधबार दोस्रोपटक ३ सय ३४ जनाको स्वाब नमुना संकलन गरिएको छ। एकैपटक २८ जनामा कोरोना संक्रमण भएपछि लक गरिएको संक्रमित क्षेत्रमा पुनः परिक्षणको कार्य थालिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीकाअनुसार स्वास्थ्यकर्मीटोलीले संक्रमितस्थलका मुस्लिम समुदायका २ सय ३८ जना र अन्य समुदायका ९६ जनाको स्वाब नमुना संकलन गरिएको हो। मुस्लिम समुदायका अधिकांशको पुनः परिक्षणका लागि स्वाब नमुना संकलन भएको हो। ३ सय ३४ जनाको स्वाब नमुना लिइएकोमा मुस्लिम समुदायमा १ सय ५ पुरुष र १ सय ३३ महिला छन् भने अन्य समुदायका ७० पुरुष र २६ जना महिला रहेका छन्। संकलित स्वाब नमुना परिक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने प्रमुख सुवेदीले बताए।
स्वाब नमुनाको रिपोर्टको आधारमा संक्रमित क्षेत्रलाई खकुलो र अझ कडा गर्ने भन्ने निर्क्यौलमा पुगिने प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए। संक्रमित क्षेत्रका स्थानीय बासिन्दाहरुले कम्तिमा पनि घरको एक जनाको स्वाब परिक्षणको माग गर्दै आएका छन्। स्थानीयहरुको पनि परिक्षणको कार्य अगाडी बढेकोमा खुसी व्यक्त गर्दै उनीहरुले बाँकी सबैको परिक्षणको माग गरेका छन्। यसबाहेक १ सय ५० जना स्थानीयको स्वाब परिक्षण बाँकी रहेको स्थानीय यदु ढकालले बताए।