बेमौसमी झरीले बोटमै उम्रियो गहुँ

बेमौसमी झरीले बोटमै उम्रियो गहुँ

जाजरकोट : बेमौसमी झरीले जाजरकोटमा गहुँबालीमा क्षति पुर्‍याएको छ । भित्र्याउने बेलाको गहुँ बालीमा पानी परेपछि जिल्लाका धेरै किसानको गहुँ कुहिएको छ । कतै चिसोले गहुँ उम्रिएको छ । जिल्लाका केही स्थानमा असिनाले गहुँ सबै झारेको छ । 

बेमौसमी झरीले जाजरकोटमा भित्र्याउने अवस्थाको गहुँबालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । किसानको ठूलो क्षति भएको छ क्षतिको एकिन विवरण अझै आइनपुगेको  कार्यालयले जनाएको छ । 

जिल्लाको भेरी नगरपालिकाका रिसाङ्ग, कालेगाँउ, स्याला, मटेला, इवर, डिंगा, तिमिले, पोखरा, राङ्गसी, पुन्मा, भुर, कुशेका ढिमे, दमदाला, खुर्पा, पैक, नलगाडका दल्ली, कैना, रोली, बगरा लगायतका ठाँउमा लगातारका बेमौसमी झरीले भित्र्याउने अवस्थाका गहुँ कुहिने अवस्था पुगेको किसानले बताएका छन् । 'काटेको गहुँ कुहिएर उम्रेको छ भने नकाटेको गहुँ पुरै कालो भएको छ', भेरी नगरपालिका २ का किसान गणेशबहादुर रोकायले भने, 'एक हप्तासम्म आएको लगातारको वर्षाले गहुँबाली चौपट बनाइदियो । लगातारको बर्षातले गहुँ माड्नै पाइएन ।'

वर्षदिनसम्म खाने गहुँ कुहिएपछि चिन्तित भएको उनले बताए । उनले भने, ‘गहुँ सबै कुहियो । केही गहुँ उम्रेका छन् । केही पुरै कालो भएका छन् । हाम्रो ठूलो नोक्सान भयो । के खाएर बाँच्ने हो ?’ गहुँ काटेर बारीमै कुहिएका छन् भने त्रिपालले छोपेका गहुँ उम्रिएका छन् ।

भेरी नगरपालिका ३ का किसान निमबहादुर खड्काले भने,‘झरीले ठूलो नोक्सान गरिदियो । गहुँबालीका साथै जौ, मसुरो, चना, तरकारी खेती लगायतमा लाखौको क्षति पुगेको छ । यसपालि फेरी खाद्यसंकट बढ्ने संभावना देखियो ।’ लगातारको झरीले तरकारी पनि बारीमै कुहिएको किसानको गुनासो छ ।

असिनाले गुहँबाली सखाप

जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाँउपालिकाका विभिन्न स्थानमा हालै परेको असिनापानीले गहुँबाली सखाप पारिदिएको छ । नलगाड १ जुरेली, मैदे, पाली, कल्पत बारेकोटको काउली, सक्ला, छुचीपाल्ती, सुवाकोट लगायतका स्थानमा परेको असिनाले पाक्ने अवस्थाको गहुँ बारीमै झारी दिएको छ । 

गहुँ, जौ लगायतका बालीमा असिना परेपछि वर्षदिन खाने अन्न भित्र्याउन नपाएको नलगाड १ का किसान लालबहादुर रानाले बताए । असिनाले ५० परिवारको गहुँखेती नष्ट गरिदिएपछि गाँउमा भोकमरीको खतरा बढेको उनको भनाइ छ । 

कोरोना महामारीका कारण विश्व नै लकडाउनमा छ । जाजरकोट हरेका वर्ष खाद्य संकट हुने जिल्ला हो । यस वर्ष गहुँबाली राम्रो भए पनि भित्र्याउने बेला लगातारको झरीले गर्दा उत्पादनमा ह्रास आउने कृषि प्राविधिक यज्ञ अधिकारीको भनाइ छ । यस वर्ष उत्पादनमा ह्रास आउँदा खाद्य संकट निम्तिने खतरा रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.