सीमामा 'पराई' जस्ता नागरिक ! कसले सुन्‍ने दुधे बालकको चित्कार (फोटो फिचर)

सीमामा 'पराई' जस्ता नागरिक ! कसले सुन्‍ने दुधे बालकको चित्कार (फोटो फिचर)

भैरहवा : महिना दिन पैदल यात्राले थकित शरिर। सुन्निएको खुट्टा। भोकले रन्थनिएको अनुहार। धुलो माटोले फोहोर भइसकेको कपडा। भोकले चिच्चाइरहेको काखामा लिइएको दुधे बालक। काँधमा झोला र झिटीगुन्टा। हजार बढी किमी यात्रा गरेकालाई झट्ट हेर्दा मानसिकस्थिती गुमाएको जस्तो हुलिया। स्वदेश फर्किने आशामा सीमामा पुग्ने नेपालीहरुको परिदृश्य हो यो। तर, अनेकौ पीडा खेपेर सीमामा पुगेका नेपालीहरुले 'वेलकम टु नेपाल' लेखिएको स्वागतद्धार हेरेर मात्र चित्त बुझाउनु परेको छ। सरकार उनीहरुलाई सुरक्षित रुपमा स्वदेशमा 'वेलकम' गर्नमा कठोर बनेको छ। आफ्नै नागरिकलाई रोक्नका लागि सीमामा हजारौँको संख्या सुरक्षाकर्मी परिचालन गरेको छ। आफ्नै सरकार उनीहरुका लागि पराई भएको छ।

'घर पुग्ने आशामा यत्रो दुःख पीडा खेप्दै सीमासम्म आइपुग्यौँ' सोमबार बेलहिया-सोनौली सीमाको दशगजामा पुगेका नेपालीहरुले एकै स्वरमा भने, 'तर, यहाँ हाम्रै सरकार हाम्रो लागि बाँधक बनेको रहेछ, के हामी नेपाली नागरिक होइनौँ? सरकारले हाम्रो सुरक्षित उद्दार गर्नुपर्दैन? हामी कहाँ जाने?' केही दिनदेखि सीमावर्ती भारतीय बजार सुनौली बसपार्कमा बस्दै आएका करिब अढाई सय नेपालीहरु सोमबार दिउँसो स्वदेश छिर्नका लागि एकाएक नेपाल भारत दशगजामा आइपुगेका थिए। मुम्बई, दि्ल्ली हरिद्वार, राजेशस्थानलगायत ठाउँबाट उनीहरु आएका थिए।

स्वदेश छिर्न पाउने आशामा दशगजामा आएका उनीहरु मध्ये केहीको काखामा दुधे बालकहरु थिए। भोक र भीडले आत्तिएका बालक रोइरहेका थिए। अबोध बालकको चित्कार कसैले सुनिरहेको थिएन। तर, त्यही बालकको चित्कारले हजारौं शब्द बोलिरहेको छ। भीडमा स्वास्थ्य नागरिक पनि संक्रमित हुने जोखिम बढेको छ।

सीमावर्ती भारतीय सहर नौतनवास्थित विभिन्न ९ वटा क्वारेन्टाइनमा सोमबार दिउँसोसम्म नेपालीको संख्या एक हजार एक सय ५६ जना पुगेको नौतनवाका सिओ एवं डिएसपी राजकुमार शवले बताए। उनका अनुसार अझै सीमातर्फ आउने क्रममा छन्।

क्वारेन्टाइन पुरै खचाखच भरिएको छ। दशगजमा पुगेका करिब अढाई सय नेपालीलाई सीमावर्तीको अर्को भारतीय बजार भगवानपुरस्थित विभिन्न क्वारेन्टाइनमा व्यवस्थापन गर्न लगिएको छ। नेपाल सरकारले नेपालीहरुलाई सुरक्षित रुपमा उद्दार गरेर नलगे स्वास्थ्य नेपालीहरु पनि संक्रमित हुन सक्ने जोखिम बढेको सिओ शवले बताए।

भारतका केही जिल्लाका क्वारेन्टाइनहरुबाट नेपालीहरुलाई निकालेर दशगजामा पुराइएको छ। तर, बेलहिया-सोनौली सीमामा पुग्ने नेपालीहरुको भारतमै व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती) रुपन्देहीका प्रमुख डिएसपी मानबहादुर शाही र इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सीमामा कमाण्ड सम्हालेका छन्। उनीहरुको सुमधुर सम्बन्धका कारण नेपालीहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिदैछ। तर, भारतीय अधिकारीहरुलाई पनि दैनिक सयौँको संख्यामा आइरहेका नेपालीहरुलाई व्यवस्थापन गर्न समस्या परिरहेको छ। नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश भित्रयाउन सरकारले छिट्टै कुनै पहल नथालेमा भारतमा उनीहरुको व्यवस्थापन गर्न समस्या पर्ने र उनीहरु सीमामा पुगेमा सुरक्षाकर्मीहरुलाई रोक्नमा समस्या पर्न सक्ने दुवै देशका सुरक्षा अधिकारीहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.