रुपन्देहीको दक्षिणी नाकामा ‘मुभमेन्ट’ रोकियो
भैरहवा : रुपन्देहीमा मंगलबार थप ९ जना कोरोना संक्रमण पुष्टि भएसँगै मर्चवार र लुम्बिनीका केही भागमा आवतजावत हुन सक्ने भन्दै नाकामा सर्वसाधारणको ‘मुभमेन्ट’ मा रोक लगाइएको छ।
हुलाकी राजमार्ग (बनगाई चोकदेखि पर्सासम्म) को दक्षिण तर्फ जाने सबै बाटोमा आवतजवातमा रोक लगाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए।
‘बनगाई चोकदेखि पर्सासम्मको दक्षिण तर्फ आवतजावत हुन सक्ने सबै बाटोमा सुरक्षाकर्मी परिचालन भइरहेका छन्’, एसपी थापाले भने, ‘अर्को आदेश नभएसम्म त्यस क्षेत्रबाट आवतजावत गर्न पाइदैन।’
बनगाई चोकदेखि पर्सासम्मको दक्षिणी तर्फ मर्चवार र लुम्बिनीका क्षेत्र पर्दछन्। दक्षिण तर्फका क्षेत्र भारतसँग जोडिएका सीमा क्षेत्र हुन्। सीमा क्षेत्रमा बढी संक्रमित पुष्टि भएकाले संक्रमण फैलिनबाट रोक्नका लागि आवतजावतमा रोक लगाइएको उनको भनाइ छ।
यस अघि हुलाकी राजमार्गदेखि दक्षिण तर्फका लुम्बिनी र मर्चवारका सात जनामा संक्रमण पुष्टि भएको थियो। ‘मंगलबार पुष्टि भएका ९ जना पनि लुम्बिनी र मर्चवार (सम्मरीमाई गाउँपालिका) को रहेको प्रदेश पाँचको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए।
सीमापारी अलपत्र परेका नेपालीलाई सरकारले वैधानिक रुपमा नभित्रयाउँदा उनीहरु राति नाकाबाट दैनिक अवैधानिक रुपमा लुकेर भित्रिने क्रम जारी छ। पछिल्ला दिनमा भारतबाट अवैधानिक रुपमा भित्रिरहेकामै संक्रमण पुष्टि भइरहेको छ।