लकडाउनमा रक्सी तस्करी : विवादमा परिवारमाथि कुटपिट
इटहरी : लकडाउनका बिचमा पनि सुनसरीको सीमा क्षेत्रमा रक्सी तस्करी भइरहेको खुलेको छ । तस्करीकै सिलसिलामा भएको विवादमा एउटा समुहले कोशी गाउँपालिका ६ मा रहेको एक परिवारलाई कुटपिट गरेको छ ।
स्थानीय पप्पु यादवकाअनुसार सीमा क्षेत्रमा लामो समयदेखि तस्करी गरिरहेको समुहले उनकी भाउजू, भाइ तथा भतिजलाई कुटपिट गरेको छ ।
गत आइतबार राती ९ बजे घरमै पुगेको समुहले कुटपिट गरेको उनले बताए । कुटपिटका कारण भाउजू मिनादेवी यादव, भाइ विरेन यादव र भतिज मनिष यादव घाइते भएको उनले बताए । मिनादेवी र विरेनलाई सोही दिन उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको उनले बताए ।
‘साँझको बेलामा भतिजलाई दुई कार्टुन दारु छ, कटाइदे भनेछन्,’ यादवले भने, ‘उसको बुवाआमाले दिएनन्, त्यही रिसमा राती आएर परिवारमाथि नै कुटपिट गर्यो ।’ उनकाअनुसार मनिष माझी, चिंकु खेरबार, डम्बर माझी, निरज माझी, रोशन दुर्जालगायतको समुह आएर कुटपिट गरेको थियो ।
पछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिइए पनि वास्ता नगरेको उनले बताए ।
सीमा क्षेत्रमा तस्करहरुले त्यहाँ खटिएका सुरक्षाकर्मीलाईसमेत प्रभावमा पारेर सामान वारपार गराउने गरेका छन् । त्यसमा पनि रक्सीको तस्करी धेरै हुने गरेको स्थानीयहरु बताउँछन् । बिहारमा खुलेआम रक्सी किनबेच र उपयोगमा प्रतिबन्ध लगाइएको छ । त्यसैले नेपालबाट तस्करी गरेर पुग्ने रक्सी भारतीयहरुले चार गुणासम्म बढी पैसा हालेर किन्ने गरेको स्थानीय भूपेन्द्र खेरबार बताउँछन् । ‘नेपाली दुई सय रुपैयाको रक्सी बोर्डरमा ८ सय रुपैयाँमा बिक्छ,’ उनी भन्छन्, ‘त्यसैले रक्सी तस्करीमा पहुँचवालाहरु नै सक्रिय छन् ।’
यता प्रहरी चौकी भोक्राहाका इन्चार्ज तीर्थ भट्टराईले भने आफन्तहरुबिच झगडा भएको बताए । उनले आफूहरु घटना हुनेबित्तिकै पुगेको बताउँदै उजुरी परेको जानकारी भने नआएको बताए ।