धादिङमा कोरोना संक्रमित महिला बसेको गाउँका सबैको पीसीआर नेगेटिभ
धादिङ : धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवा गाउँका ३८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । गत बिहीबार गाउँकी एक महिलालाई कोरोना संक्रमण देखिएपछि उनका घर, माइती छरछिमेक र आसपासका ३६ जना स्थानीयको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो ।
गल्छी प्रहरीले लकडाउन अवधिमा संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरेर माइती पक्षका १८ जना र र घरतर्फका २० जनाको सूची तयार गरेको थियो । उक्त सूची अनुसार वाग्मती प्रदेशका प्रयोगशाला निर्देशक डाक्टर नारायण कार्कीको नेतृत्वमा आएको समूहले ३६ जना स्थानीयहरुको स्वाब पीसीआर परीक्षणमा पठाएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको थियो । त्यस्तै सतुंगलमा डेरामा रहेका श्रीमान र छोराको पनि रिपोर्ट नेगेटिभ नै आएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर भुवन पौडेलले बताए ।
उनले भने, ‘कन्ट्रयाक ट्रेसिङबाट संक्रमित महिलाको संसर्गमा देखिएका सवैजनाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । जसले गर्दा गाउँमा केही त्रास कम भएको छ ।’ यता गल्छीस्थित स्वास्थ्यचौकीमा कार्यरत नर्स र स्वास्थ्यचौकीकै एम्बुलेन्स चालकको आरडीटी रिपोर्ट भने पोजेटिभ आएपछि दुवैको स्वाब पीसीआर परीक्षणको लागि काठमाडौं पठाइएको छ । उनीहरु दुवैजना अहिले गाउँपालिकाको क्वारेन्टिनमा रहेका छन् ।
संक्रमित महिलासँग नजिक रहेकाहरुको रिपोर्ट नेगेटिभ आएपछि गाउँमा स्थानीयहरु खुसी भएका छन् । संक्रमित महिला भेटिएपछि गाउँ आसपास चारकिल्ला तोकेर गाउँ नै सिल गरिएको थियो । नतिजा नेगेटिभ आए पनि गाउँलाई भने अझै केही समय सिल गरेरै राखिने सुरक्षा समितिले जानकारी दिएको छ । गाउँलेको नजिता नेगेभिट आएपछि डर र त्रास भने कम भएको स्थानीय बताएका छन् ।
पत्रकारको आरडीटी नेगेटिभ
कोरोना भाइरसको संक्रमण सुरु भएयता नियमित फिल्डमा खटिएर काम गरिरहेको धादिङका पत्रकारहरुको आरडीटी परीक्षण नेगेटिभ देखिएको छ । कोरोनाको जोखिम मोलेर दैनिक रिपोर्टिङमा हिंडिरहेका पत्रकारको आरडीटी परीक्षण गराउन पत्रकार महासंघ धादिङ शाखाले आग्रह गरेको थियो ।
नेपाल पत्रकार महासंघ धादिङको समन्वय तथा स्वास्थ्य कार्यलय धादिङको संयोजनमा जिल्ला अस्पताल धादिङवेशीमा गरिएको परीक्षणमा आरडीटी टेष्ट गरिएका २१ जना पत्रकारको रिपोर्ट नेगेटिभ रहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
त्यस्तै सोमबार नै जिल्लामा रही अग्रपङतीमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि आरडीटी परीक्षण गरिने पौडेलले बताए ।