कोरोना संक्रमित भेटिएपछि धादिङको जुगेखोला क्षेत्र 'सिल'
थाक्रे (धादिङ) : सोमबार भेटिएका कोरोना भाइरसका संक्रमितमध्ये धादिङको थाक्रे गाउँपालिका ८ जुँगेखोला क्षेत्रका एक पुरुष पनि रहेका छन् । योसँगै धादिङमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ पुगेको छ । एकजना नेत्रावती गाउँपालिका ३ सेमजोङका निको भएर घर फर्किसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।
काठमाडौंको बागबजारमा व्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रेस्थित गाउँ आएर २८ गते काठमाडौं नै फर्किएका थिए । गाउँको स्थानीय व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि अहिले थाक्रे ८ को जुँगेखोला क्षेत्र जिल्ला सुरक्षा समितिले सिल गरेको छ ।
मंगलबार बिहान थाक्रे गाउँपालिका प्रमुख रामकुमार आचार्यसहित प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्वका धार्केखोला पुल, पश्चिममा आडकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालय बीचको क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, 'संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्दै उल्लेखित चारकिल्ला क्षेत्र भित्र प्रहरी परिचालन गरेर पूर्णरुपमा आवतजावत बन्द गराइएको छ ।
उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियमित गस्ती गरी सुरक्षा व्यवस्था मिलाइरहेको छ भने स्थानीयलाई घर बाहिर ननिस्किन माइकिङ समेत गर्न थालिएको छ । आवश्यक परेको खण्डमा नेपाली सेनालाई समेत सवारी गस्ती गर्न निर्देशन दिइएको छ ।
संक्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौं गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नको लागि वडाअध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टिम बनाइएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए । उनले भने, 'संक्रमित व्यक्तिसँग जोडिएका सबै स्थानीयलाई गाउँपालिकाको क्वारेन्टाइनमा ल्याएर राखिने र सबैको पीसीआर रिपोर्ट परीक्षण गरिनेछ।'
६ जनाको आरडीटी पोजिटिभ
धादिङमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा ६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमा धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।
गजुरीमा गरिएको परीक्षणमा तीनजना सुरक्षाकर्मीमा आरडीटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु सबै सुरक्षाकर्मी रहेको बताइएको छ ।
गजुरीमा सुरक्षाकर्मी ४३ जना, क्वारेन्टाइनका काम गर्ने, एम्बुलेन्स चालक एक-एकजना, जनप्रतिनिधि ५ जना, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको आरडीटी परीक्षण गरिएको रेग्मीले जानकारी दिए।
आरडीटीमा पोजिटिभ देखिएपछि उनीहरु सबैको स्वाब पीसीआर परीक्षणका लागि टेकु पठाइएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।