तस्करी रोक्न मध्यरातमा गस्ती
राजविराज : भारतीय सीमा क्षेत्रस्थित सप्तरीको छिन्नमस्ता गाउँपालिकाको चकमन्न सुनसान रात। पानीले निथ्रुक्क भिजेका चार जना घर्सिएर हिडिरहेका छन्। कुहिना र घुँडाको सहायतामा घर्सिरहेका उनीहरू दुवै हातले आफ्ना कान समातेका छन्।
‘आब दारु लैल नेपाल नै आयब’, अर्थात् अबदेखि मदिरा लिन नेपाल आउँदिन भनेर रुदै याचना गर्छन् र घर्सिएर हिडिरन्छन्। लकडाउन र सीमा नाका बन्द भएका बेला राती मदिरा ओसार्न नछाडेकाहरूलाई हिजोआज यस्तै सजाय दिने गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला अवैध मदिरा तस्करी नरोकिएपछि छिन्नमस्ता गाउँपालिका–३ सखडाका १० युवा राती चौकिदारी गर्छन् र मदिरा ओसार्न पल्किएकाहरूलाई शारीरिक सजाय दिन्छन्।
सप्तरीको छिन्नमस्ता २ को मोहनपुर, रम्पुरा, मौवाहा, वडा नम्बर ३ को सखडा, गोबिन्दपुर, राजपुरा र मौवाहा तथा वडा नम्बर ४ को लालापट्टी भारतीय सीमासँग जोडिएको गाउँ हो। वडा नम्बर ३ मा वोर्डर आउट पोस्ट रहेकोमा कोरोना महामारीका बेला सीमा क्षेत्रमा आवागमन रोक्न छिन्नमस्ता २ मा दुई वटा, वडा नम्बर ३ मा तीन वटा र वडा नम्बर ४ मा तीन वटा सशस्त्रका पोष्ट थपिएका छन्।
दिनभरी सशस्त्र प्रहरीको गस्ती हुने गरेकाले मध्यरात भारतीय भरिया मदिरा ओसार्न छिन्नमस्ता पस्छन्। प्रतिकार्टुन एक सय भारतीय रूपैयाँ पाउने बताएका भरियाले एक पटकमा पाँच कार्टुन बोकेर पारी पुर्याउँछन्। रातमा दुई पटकसम्म ओहोर दोहोर गर्दा एक घण्टामा एक हजार भारतीय रूपैयाँ कमाई हुने उनीहरूको भनाइ छ। राष्ट्रिय जनगणना अनुसार १ हजार १ सय ५० परिवार रहेको वडा नम्बर ३ मा एक वर्ष अगाडि २ सय ३२ वटा मदिरा पसल थिए।
वडा ३ का अध्यक्ष दीपेन्द्रकुमार यादवका अनुसार सानो बजार रहेको सखडामा अहिले पनि दर्ता भएका १६ वटा पसल छन्। किराना र चियानास्ता पसलमासमेत मदिरा बिक्री हुने सखडामा दर्ता नभएका पसल एक दर्जन बढी रहेको स्थानीय प्रमोद ठाकुर बताउँछन्। राजविराजभन्दा ठूला मदिराका डिलर मात्रै ६ वटा छन्। ‘जनसङ्ख्याको अनुपातमा धेरै डिलर र पसल खोलिने, दिनभरी पसलमा भण्डारण गर्ने र प्रति कार्टुन सात सय रूपैयाँको सेटिङ्गमा राती भारततर्फ तस्करी हुने गरेकोले युवाहरू नै रोकथामका लागि अघि बढनु परेको अर्का स्थानीय सचिन यादवले बताए।
तस्करी नियन्त्रण गर्न वडाध्यक्षकै सल्लाहमा मिथलेश यादवको नेतृत्वमा युवाको टोली निर्माण भएको हो। राती खाना खाएर १० जना सीमा क्षेत्र पुग्छन्, खेतको कान्ला, झ्याङ्ग, बाँसघारीमा घेरा हालेर लुकेर बस्छन्। तस्करका साथमा पेस्तोलसमेत हुने भएकाले उनीहरूले सशस्त्र प्रहरीको पनि साथ लिएका छन्। युवाको योजना बमोजिम ५÷६ जना सशस्त्र प्रहरी पनि लुकेर बस्छन्। भारतबाट पाँचदेखि १० जनाको समूहमा आउने भरियालाई घेरा हालेर नियन्त्रणमा लिएपछि सुरु हुन्छ शारीरिक सजाय।
पोखरीमा नुहाउन लगाएर घुँडा र कुहिनो टेकाएर हिडन लगाउँछन्, कान समाउन लगाएर अबदेखि नेपाल प्रवेश गर्दैनौ भनेर पटक–पटक प्रतिबद्धता गराउँछन् र कोरोना भाइरसको जोखिमका बारेमा सचेत गराएर भारत फिर्ता पठाउँछन्। वडाध्यक्ष यादव भन्छन, ‘लकडाउन र सीमा नाका बन्दका बेला पनि तस्करी नरोकिदा संक्रमणको जोखिम बढेकाले आफ्नो गाउँको चौकीदार बन्नुपरेको हो।’