भारतबाट लुकेरै गाउँ आइपुगेका थिए सप्तरीका कोरोना संक्रमित
राजविराज : शुक्रबार राति कोरोना संक्रमणको पुष्टि भएका सप्तरीका ३५ वर्षीय युवक भारतको हरियाणाबाट प्रशासनको आँखा छलेर चोरबाटो हुँदै घर आएको खुलेको छ ।
बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार ९ दिनअघि उनी लुकिछिपी चोरबाटो हुँदै घरमा बसेका थिए । बलान बिहुल गाउँपालिका–४ का संक्रमित व्यक्तिलाई सात दिनअघि क्वारेन्टाइन ल्याएर राखिएको अध्यक्ष यादवले बताए ।
भारतको हरियाणामा मजदुरी गर्ने उनी श्रीमति र भाईसहित जेठ १ गते चोर बाटो हुँदै घर आएको गाउँलेहरुले समेत पुष्टि गरेका छन् । भारतबाट आएर घरमा बसिरहेको पत्ता लागेपछि जेठ ३ गते प्रहरीले उनी, उनका श्रीमति, भाईसहित भारतबाट आइ लुकिछिपी घरमा बसेका टोलका सात जनालाई सो क्वारेन्टाइनमा राखेको थियो ।
संक्रमित बसेको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा हाल ४९ जना छन् । तीमध्ये चार दिनअघि नमूनास्वरुप पाँच जनाको मात्र स्वाब संकलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।
बलान बिहुल गाउँपालिका १ स्थित क्वारेन्टाइनमा रहेका सबै २५ जना र वडा नम्बर ४ स्थित क्वारेन्टाइनमा रहेकामध्ये पाँच जनाको जेठ ६ गते नमूना स्वाब संकलन गरिएको थियो । वडा नम्बर १ स्थित क्वारेन्टाइनबाट लिइएको २५ जनाको स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएको अध्यक्ष यादवले बताए ।
यादवका अनुसार वडा नम्बर ४ बेल्हीस्थित क्वारेन्टाइनबाट लिइएको पाँच जनामध्ये एक जनाको रिपोर्ट शुक्रबार राति पोजिटिभ पुष्टि भएको छ । अन्य चारजनाको रिपोर्ट आउन बाँकी छ ।अन्नपूर्ण पोस्टमा जेठ ५ गते बलान बिहुल गाउँपालिका–४ बेल्ही नजिक भारतबाट आइपुगेका गाउँलेहरुको तस्बिरसहित ‘तयारीभन्दा बढी भित्रिए’ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।
समाचारमा सिमानाका बन्द भएका बेला दक्षिण सीमाबाट चोरबाटो हुँदै प्रवेश गर्ने क्रम ह्वात्तै बढेको, केही व्यक्ति क्वारेन्टाइनमा बसे पनि अधिकांश घरमा लुकिछिपी बस्ने गरेको,व्यवस्थापनको तयारी नभएकोले कोरोना संक्रमण फैलिने चिन्ता गरिएको थियो । सप्तरीमा यसअघि वैशाख २९ गते डाकनेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेशनमा रहेका छन् । भर्खरै पुष्टि भएका संक्रमित युवकलाई पनि राजविराज ल्याउने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार राति सप्तरीसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।