पूरा होला इच्छुकको सपना
काठमाडौं :
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं।
कवि कृष्ण सेन ‘इच्छुक’ को प्रतिबन्ध शीर्षकको कवितांश हो यो। तर ‘इच्छुक’ ले देखेका सपना अहिले मुर्झाइरहेका छन्। पशुपति शर्मा, दुर्गेश थापादेखि ¥यापर भिटेनलगायतका गीत प्रतिबन्धित भइरहेका छन्।
साहित्यकार तथा पत्रकार ‘इच्छुक’ को मंगलबार १८औं स्मृति दिवस हो। गणतन्त्र र संविधानसभाका पक्षमा आवाज उठाएबापत उनलाई २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लब र सैन्य हिरासतमा कठोर यातना दिई जेठ १३ गते हत्या गरिएको थियो।
लेखक नवीन विभास उनलाई सम्झना गर्दै भन्छन्, ‘इच्छुक जसको गोडाले गणतन्त्र उभिएको छ, भलै ‘गणतन्त्र फल’ खाने इच्छुक सपना मुताबिक भुइँमान्छे नभई ‘पुरानै अनुहार’ छन्।’
‘इच्छुक’ का प्रगतिशील कविताबाट प्रभावित दंगाली कवि छविलाल कोपिला उनको सपना पूरा हुने छाँट देख्दैनन्। ‘अहिले सामान्य स्ट्याटस लेखेकोमा पनि मान्छे पक्राउ परिरहेका छन्। आफंै कविता लेख्ने प्रधानमन्त्री खै किन हो, साहित्यकारका रचनाबाट त्रस्त हुन्छन्।’
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यका अनुसार लकडाउनका कारण भौतिक रूपमा उपस्थित भएर कृष्ण सेन स्मृति दिवस कार्यक्रम गर्ने अवस्था थिएन। त्यसैले, पत्रकार महासंघ केन्द्रीय कार्यालयको टिमको सहभागिता रहने गरी कृष्ण सेनसहित हत्या गरिएका पत्रकारको सम्मानमा मंगलबार महासंघ केन्द्रीय कार्यालयस्थित पत्रकार सहिद स्तम्भमा मौनधारण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। उनले कृष्ण सेनसहित हत्या गरिएका सम्पूर्ण पत्रकारका हत्यारामाथि कारबाही, बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिक र वेपत्ता पार्ने कार्यमा संलग्नमाथि कारबाहीको माग समेत गरेका छन्।
इच्छुकले दाङ देउखुरीको भालुबाङमा सामान्य कटेरो बनाएका थिए। भालुबाङको राप्ती पुलवारि कृष्ण सेन इच्छुक पार्क निर्माणाधीन अवस्थामा छ। यस वर्ष पनि पार्क निर्माण समितिका सीमित सदस्यले १८औं स्मृति दिवस मनाए। पार्क बन्ने कुरा ओझेलमा परेपछि कवि रामप्रसाद जैशी भन्छन्, ‘कथनि र करनिबीच तालमेल नहुनु र उनको स्मरणको नाटक चाहिँ अमिल्दा कथा हुन्।’
दाङको लालमटिया स्कुलमा पढ्दा नै उनको साहित्यिक चेतना तिक्खर भएर उम्रिसकेको थियो। २०३३ सालमा ‘मातृभूमि’ पत्रिकामा ‘भोलिप्रति’ कविता छापिएपछि साहित्यिक यात्रामा उनी सार्वजनिक भए। सुरेश रानाभाटका अनुसार ‘त्यो प्यारो प्यारो गाउँको नाम थवाङ हो’ शीर्षकको बेजोड कविता २०३८ सालमा ‘त्रिकोण’मा प्रकाशित भएपछि प्रगतिवादी साहित्यिक फाँटमा इच्छुकलाई युग विद्रोहका गायक भनेर चिनिन थालियो।
साहित्य, पत्रकारिता र राजनीतिको त्रिकोणात्मक सम्मि श्रण थियो उनको जीवनमा। उनका ‘शोकाञ्जली’ शोककाव्य (२०४८), ‘इतिहासको यस घडीमा’ कविता संग्रह (२०५६), ‘बन्दी र चन्द्रागिरि’ लामो कविता (२०५७) प्रकाशित छन्। त्यस्तै, ‘पर्खालभित्रका बन्द आवाजहरू’ कविता संग्रह (अप्राप्य र अप्रकाशित), इच्छुक रचनावली भाग १ र २ गरी ५ दर्जनभन्दा बढी फुटकर कविता विभिन्न पत्रपत्रिकामा छरिएका छन्। उनका निबन्ध, कथा, पत्रसाहित्य, भूमिका, राजनीतिक–सांस्कृतिक, दार्शनिक लेख, अन्तर्वार्ता र अनुवादसमेत रहेका छन्।