भारतमा अलपत्र नेपाली वीरगन्ज नाकाबाट भित्रिंदै : काठमाडौं बाहेककालाई जिल्ला पठाइने
वीरगन्ज : लकडाउनका कारणले भारतको रक्सौल नाकामा लामो समयदेखि अलपत्र परेका नेपालीलाई उद्धार गरी बुधबार बिहानदेखि नेपाल भित्र्याउन सुरु गरिएको छ । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार लामो समयदेखि रक्सौलका क्वारेन्टाइनमा राखिएका र नाकामा रोकिएका गरी ३ सय ७५ नेपाली रक्सौलमा अलपत्र परेका थिए ।
रक्सौलमा अलपत्र परेका नेपालीलाई बुधबार बिहानदेखि वीरगन्जको मुख्य भन्सार नाका हुँदै नेपाल ल्याउन सुरु गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । रक्सौलमा अलपत्र परेका नेपाली पर्सा, बारा, मकवानपुर, चितवन, रुकुम, दाङ, सुर्खेत, नुवाकोट, काठमाडौं गरी २५ जिल्लाका छन् ।
सीमावर्ती भारतीय प्रशासन र प्रहरीसँग समन्वय गरेर रक्सौलबाट ल्याइएकालाई नाकामा शरीरको तापक्रम नापेर वीरगन्ज प्रवेश गराइएको पनि उनले बताइन् ।
पर्सा र काठमाडौं बाहेकका जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाको प्रशसानसँग समन्वय गरेर यात्रुवाहक बसमा चढाएर पठाउने काम पनि भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीतकुमार बस्नेतले जानकारी दिए ।
पर्साका नागरिकलाई जिल्ला स्थित उनीहरुको घर भएको सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको जानकारी दिंदै उनले भने, ‘काठमाडौंका नागरिकलाई भने अहिले यहीं राख्ने कुरा भएको छ, त्यसैले उनीहरूलाई वीरगन्जको क्वारेन्टाइन राखिएको छ ।' रोगजगारी, तीर्थ यात्रा लगायतका विभिन्न कामका लागि भारत गएका नेपाली घर फर्कने क्रममा लकडाउनले रक्सौल नाकामा रोकिएर अलपत्र परेका थिए ।
भारतबाट घर फर्कने क्रममा रक्सौल नाकामा आइपुगेका केहीलाई भारतले रक्सौल स्थित हजारीमलको क्वारेन्टाइनमा राखेको थियो । केही नेपाली भने रक्सौल स्थित आइसीपीमा रोकिएर हप्ता दिनदेखि अलपत्र परेका थिए । रक्सौलमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन पर्साको स्थानीय प्रशासनले सीमावर्ती रक्सौलको सुरक्षा अधिकारीसँग एक हप्ताअघिदेखि नै समन्वय गर्दै आएको थियो । तर भारत सरकारको निर्देशन नआएको भन्दै भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकेर राखेका थिए ।
रक्सौल नाका र त्यहाँको क्वारेन्टाइनमा लामो समयदेखि अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउने पटक-पटकको प्रयास बल्ल बुधबार सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।