क्वारेन्टाइनमा दिसापिसाब गर्न समस्या
जाजरकोट : जिल्ला सदरमुकाम स्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा भारतबाट आएका दुई सय ६७ जना बसेका छन् । तर शौचालय र सुत्ने कोठाको निकै समस्या छ । दुई सय ६७ जनाको लागि तीन ओटा मात्र शौचालय छन् ।
'कोठा अभावमा एउटै कोठामा २० जनासम्म कोचिएर बसेका छौं । दिसापिसाब गर्न निकै सास्ती छ । लाइनमा बस्नु पर्छ', भारतबाट आएर त्रिभुवन मावि क्वारेन्टानमा बसेका जुनीचाँदेका रोशन मगरले गुनासो गरे, 'भेडाबाख्रा कोचेजस्तै गरेर राखिएको छ । आएकै १२ दिन भैसक्यो अहिलेसम्म परीक्षण भएको छैन । क्वारेन्टाइन जेल जस्तै भयो ।'
तीमध्ये १७ जनाको कोरोना पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भिटिएम अभावमा अन्यको परीक्षण हुन सकेको छैन । जिल्लामै भिटिएम अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.सुनिल पुनले बताए ।
सेनाको सुरक्षामा क्वारेन्टाइन
क्वारेन्टाइनमा बसेका भाग्न थालेपछि जाजरकोटमा सेनाले सुरक्षा दिन थालेको छ । जिल्ला सदरमुकाम स्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेका भाग्ने र बजारमा डुल्न थालेपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् ब्यवस्थापन समितिले सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको हो ।
ज्वालादल गण मालिका ब्यारेकका सहसेनानी अमरदीप कार्कीको सेनाको एक टोली अस्थायी क्याम्प खडा गरेर सुरक्षा दिइरहेको प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलले बताए । सेनाले सुरक्षा दिन थालेपछि क्वारेन्टाइनबाट कोही पनि भाग्न पाएका छैनन् ।