रुकुम घटना : पूर्वसांसद शाहको मृतकका परिवारलाई आर्थिक सहयोग
जाजरकोट : गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोती गाउँमा भएको घटनामा मृत्यु भएका नवराजसहितका चार परिवारलाई नेपाली कांग्रेसका नेता एवम पूर्व सांसद राजीवविक्रम शाहले २५ हजारले दरले राहत सहयोग हुन्।
नेता शाहले उक्त घटना भएको छैटौं दिनमा मृतक युवालाई उनीहरुको अन्तिम दाहसस्कार भइरहेकै स्थानमा बिहीबार बिहान आफ्ना प्रतिनिधि पठाएर रकम सहयोग गरेका हुन् ।
नेता शाहको उक्त नगद राहत सहयोगलाई नेपाली कांग्रेस जाजरकोटका नेता वेदराज सिंहले भेरी नगरपालिका वडा नम्बर १ कालेगाउँस्थित भेरी नदीको घाटमा मृतक नवराज विकक बुवा मोहनलाल विक र गणेश बुढाका बुवा पदमबहादुर बुढालाई हस्तान्तरण गरे ।
यस्तै सोही घटनामा नवराजसँगै हत्या गरिएका भेरी नगरपालिका वडा नम्बर ११का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका वडा नम्बर १ नाखिराका टीकाराम सुनारका पीडित परिवारलाई पनि २५ हजारकै दरले रकम आएको र सो रकम आफूले बिहीबार या शुक्रबार पीडितकै घरमा गएर हस्तान्तरण गरिदिने नेपाल विद्यार्थी संघका अध्यक्ष ललित बस्नेतले बताए । नवराज र गणेशको बिहीबार दाहसंस्कार गरिएको छ ।
घटनाबाट असाहय पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि किरिया खर्चमा राहत पुगोस भन्ने उद्देश्यले आफूले उक्त सहयोग गरेको नेता शाहले बताए ।
उनले घटनाका कोही पनि दोषीलाई उम्किन नदिने गरी सबैले पहल गर्नुपर्ने बताए । सोतीको घटना जघन्य अपराध भएकोले दोषीलाई हदैसम्मको सजाय दिएर पीडितलाई उचित न्याय दिलाउन सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
पूर्वसांसद शाहको नगद सहयोग हस्तान्तरण गर्दै नेता सिंहले पीडितलाई राज्यकातर्फबाट उचित न्याय दिलाउनका लागि कांग्रेस जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
उनले घटना अक्षम्य रहेको भन्दै जाजरकोटका होनहार युवा गुमाउनुको पीडामा सबैले भावनात्मक एकता र सहकार्य मार्फत दोषीलाई सजाया दिलाउन लाग्नु पर्ने बताए । जाजरकोटका अमुल्य सम्पतिको रुपमा रहेका युवाहरुको बरबर ढंगले भएको हत्याका दोषीलाई कारबाही गराउने बेला सबै नेता पार्टी र व्यक्तिले कुनै पनि आग्रह पूर्वाग्रह राख्न नहुने नेता सिंहको भनाइ छ ।