गुम्यो लक्ष्मीको सहारा

गुम्यो लक्ष्मीको सहारा

जाजरकोटः तीनवर्ष अघि पति गुमाएकी जाजरकोट भेरी नगरपालिका—११, मटेलाकी लक्ष्मी सुनारमाथि अर्को बज्रपात परेको छ। जेठ १० गते रुकुमपश्चिमको चौरजहारीमा भएको घटनामा लक्ष्मीले प्राणभन्दा प्यारो छोरा गुमाइन्। छोराको त्यही शोकमा अहिले उनको भोक र निन्द्रा हराएको छ।

चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा उनले १९ वर्षीय छोरा लोकेन्द्रलाई गुमाइन्। घटना भएको र छोरो हराएको खवरले उनको मन चसक्क घोचेको थियो। तर, पनि दुई दिनसम्म लक्ष्मीलाई लागेको थियो, छोरा कतै टुप्लुक्क आइपुग्छ कि ! पौडी खेल्न माहिर छोरा न पौडिएर कतै लुकेर पो बसेको छ कि ! लक्ष्मीको मनमा झिनो आशाको दियो बलिरहेको थियो। तर, १४ जेठ दिउँसोको खबरसँगै त्यो आशाको त्यान्द्रो पनि चुँडियो।

लोकेन्द्रको शव भेरी नगरपालिका–१२ स्थित नदी किनारमा भेटियो। त्यसपछि उनी बेहोस् भएर लडिन्। होस खुले पनि उनी शोकमा इन्तु न चिन्तु छन्। दिनभर टोलाई रहन्छिन्। दुर्घटनाले पतिको ज्यान लियो, साथीसँग गएको छोरालाई जातीय विभेदको घटनाले। आर्थिक अवस्था निकै कमजोर भएको लक्ष्मीको परिवार ज्याला मजदुरी गरेर गुजारा चलाउँथ्यो। तर सँधै त्यसरी चल्दैन भन्ने निश्कर्ष पुगेपछि उनीहरूले जेठो छोरा रामबहादुरलाई विदेश पठाउने निर्णय गरे।

ऋण गरेर रामबहादुर मलेसिया पुगे। छोरो मलेसिया पुगेको केही महिनामा यता आमा लक्ष्मीको जीवनमा ठूलो बज्रपात आइलाग्यो। २०७३ फागुनमा सदरमुकाम खलंगाबाट नेपालगञ्जका लागि छुटेको बसमा चढेर घर फर्किँदै गरेका लक्षेले घर पुग्न पाएनन्। उनी चढेको बस बीच बाटोमै भीरबाट पासागाड खोलामा खस्यो। उनको घटनास्थलमै मृत्यु भयो। उनीसँगै रहेकी पाँच वर्षीया छोरी गम्भीर घाइते भइन्।

उनी अहिले अपांग जीवन बाँचिरहेकी छन्। उनकाअनुसार छोरीको उपचारका लागि चारलाख रूपैयाँ खर्च भइसक्यो। तर, उनी पूर्णरूपमा सञ्चो भइनन्। जेठो छोरा रामबहादुर विदेश जाँदा लिएको ऋण पनि तिर्न बाँकी छ। ‘केही कमाइकाज होला भनेर छोरालाई ऋण गरेर विदेश पठाएका थियौं, ऊ गएपछि यता पतिको ज्यान गयो। त्यही बेलाको ऋण पनि तिर्न सकेका छैनौं,’ लक्ष्मी भन्छिन्।

कान्छो छोरा लोकेन्द्र लक्ष्मीको जीउने आधार थिए। रुकुममा मारिएका नवराज विक र लोकेन्द्र दुई बहिनाका छोराहरु हुन्। दाई नवराजको आग्रहमा गएका थिए लोकन्द्र त्यसदिन। लक्ष्मीलाई पनि लाग्छ उनीहरूलाई कि मारेर फालिएको हो कि कुटेर पौडिनै नसक्ने गरी। १४ जेठमा भेटिएका लक्ष्मीका छोरा लोकेन्द्रको शवले पनि यही भन्छ। शव टाउकोमा ठाउँ–ठाउँ चोट लागेको र हात बाँधिएको अवस्थामा भेटिएको थियो।

‘भेरीको छालमा हुर्केको हो। पौडी खेलेर वारपार गर्‍थ्यो। जिँउदै भेरीमा फालेको भए त तरेर आउँथ्यो होला। मेरो छोरालाई उनीहरूले मारेरै फालेका हुन्’, लक्ष्मी भन्छिन, ‘हात बाँधेको अवस्थामा लास भेटियो, अपराधीले सजाय पाउन।’ बाबुको दुर्घटनामा मृत्यु भएपछि लोकेन्द्रको पढाइले पनि निरन्तरता पाउन सकेन। विदेश गएका दाइ अलपत्र परेपछि घरव्यवहार धान्ने जिम्मा उनको काँधमा आइलाग्यो। आमा लक्ष्मीले फेरि ऋण गरिन् र, लोकेन्द्रलाई सुनचाँदीको काम सिक्न सुर्खेत पठाइन्।

नौ कक्षासम्म पढेका लोकेन्द्र केही समय पहिले सुनचाँदीको काम सिक्न सुर्खेत पुगेका थिए। काम सिक्दै थिए। काम सिकेर आमालाई र बहिनीलाई सुुखसँग पाल्छु भन्थे लोकेन्द्र। लक्ष्मीले भनिन्, ‘बरु म अभागीलाई कालले लिए हुन्थ्यो।’ लकडाउनकै हुनु अगावै लोकेन्द्र सुर्खेतबाट जाजरकोट घर फर्किएका थिए। तीन वर्षअघि मलेसिया पुगेका लक्ष्मीका जेठो छोरा रामबहादुर त्यहाँ अलपत्र छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.