रुकुम हत्याकाण्डको छानविन माग गर्दै प्रदर्शन
जाजरकोट : नवराज बिक हत्याकाण्डको निष्पक्ष छानविनको माग गर्दै सोमबार जाजरकोटमा प्रदर्शन गरिएको छ ।
‘सोती घटना संघर्ष समिति जाजरकोट’को आयोजनामा घटनाको सत्य तथ्य छानविनका लागि दवाव दिन सदरमुकाममा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले घटनाको ‘सत्यतथ्य छानविन गर’, ‘दोषीलाई कारवाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘वेपत्ता गोविन्द शाहीको खोजी गर’ लगायत नारा लेखिएका ‘प्लेकार्ड‘ बोकेर सदरमुकाममा नारावाजी गरेका थिए ।
प्रदर्शनपछिको कोणसभामा संघर्ष समितिका पदाधिकारी तथा सदस्यहरुले सम्बोधन गरेका थिए । घटनालाई तोडमोड गर्न खोजिए जाजरकोटवासीले आन्दोलन थप आक्रामक बनाउने उनीहरुको चेतावनी छ ।
१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको घटनामा जाजरकोटका नवराज बिक सहित पाँच जनाको ज्यान गएको छ भने गोविन्द शाही वेपत्ता छन् । जातीय विभेदका कारण भएको उक्त नरसंहारको विरोध स्वरुप जिल्लावासीले प्रदर्शन जारी राखेका छन् ।