रुकुम घटना : घटनास्थल पुगेर राष्ट्रिय मानव अधिकार आयोगले काम थाल्यो
जाजरकोट : पाँचजनाको ज्यान जाने गरी पश्चिम रुकुमको सोतीमा भएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले घटनास्थल पुगेर काम थालेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उप निर्देशक चन्द्रकान्त चापागाईको नेतृत्वमा आएको टोलीले घटनाको सम्बन्धमा जाजरकोटका स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकारवालालाई भेटघाट गरेको छ । टोलीले घटनामा परी ज्यान गुमाएका नवराजका आमाबुवा, सन्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो ।
मंगलबार घटनास्थल पुगेर त्यहाँका स्थानीयसँग छलफल गर्ने र घटनास्थलको अवलोकन गर्नेछ । पीडित परिवारले आयोग समक्ष घटनाको निश्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेका छन् ।
'दलित भएकै कारण मेरा छोराको हत्या गरिएको हो नवराजका बुवा मुनलाल विकले भने, 'हत्यारालाई कारवाही भएको देख्न पाउँ । घटनाको सत्यतथ्य छानवीन होस्। अपराधी उम्किन नपाउन।'
आफू बिरामी भएको तर बयानका लागि रुकुम जानुपर्ने बाध्यता भएकाले मिल्ने भए जाजरकोटमै बयान गर्ने व्यवस्था मिलाई दिन मुनलालले आग्रह गरे। उनले रुकुमको मुसिकोट जाँदा बाटोमा असुरक्षा हुनसक्ने भन्दै सुरक्षाको पनि माग गरे । त्यस्तै सञ्जीव विकका बुवा बलबहादुरले केटालाई नियन्त्रणमा लिएर बर्वर तरिकाले हत्या गरी नदीमा फालेको बताउँदै घटनामा संलग्नलाई हदैसम्मको सजाय गर्न माग गरे ।
स्थलगत अध्ययन टोलीका संयोजक चापागाईले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानवीन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिए ।
संयोजक चापागाईले न्याय पाउनेमा पीडित परिवारलाई आवश्वास्त पार्दै भने, 'हामीले घटनापछि हरेक घटनाक्रमलाई सुक्ष्म ढंगले नियालिरहेका छौं। यसअघि नै घटनाको सत्यतथ्य छानवीनका लागि सरकारलाई निर्देशन समेत दिइसकेका छौं। '
उनले स्थलगत अध्ययन पछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि गरिने र सो प्रतिवेदन सरकारलाई बुझाउने बताए। यसअघि पनि आयोगले रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ ।
घटना जातीय विभेद र प्रेम सम्बन्धले निम्त्याएको आयोगको निश्कर्ष छ । गम्भीर मानवअधिकार उलंघनको बर्वर घटना भएको आयोगको ठहर छ । मंगलबार टोली रुकुम प्रस्थान गर्ने कार्यक्रम छ । घटनामा बेपत्ता भएका गोविन्द शाही अझै फेला पर्न सकेका छैनन् ।