परीक्षणमै ढिलाइ : आठ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट आएन
जाजरकोट : कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर सुर्खेत पठाएको एक साता वितिसक्दा पनि पीसीआर रिपोर्ट आउन सकेको छैन । परीक्षणमा ढिलाई हुँदा रिपोर्ट आउन पनि ढिलाइ भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटबाट गत १३ जेठ यता चार सय पाँचजनाको स्वाब संकलन गरेर सुर्खेत पठाइएको भएपनि हालसम्म रिपोर्ट आउन नसकेको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. सुनिल पुनले बताए ।
उनका अनुसार रिपोर्ट नआए पनि १४ दिन पुगेका कारण पाँचकाटियास्थित एक क्वारेन्टाइनमा रहेका १४ जनालाई आरडीटी गरेर घर पठाएको बताए । उनका अनुसार बाँकी समुदायका संकास्पद मानिसको स्वाब संकलन गरि पठाइएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये केही जिल्लाको परीक्षण प्रादेशिक अस्पताल सुर्खेतमा र केही जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने गरेको छ।
तर एकैपटक ठूलो संख्यामा मानिस भारतबाट भित्रिएकाले परीक्षणमा चाप बढेको हो । एक दिनमा दुई तीन सयको मात्र परीक्षण हुँदा ढिलाइ भएको डा. पुनले बताए ।
अन्य जिल्लाको परीक्षण भइरहेकाले जाजरकोटको पालो नआएको हुनसक्ने उनले बताए । स्वाब संकलन गरेर पठाएकाको रिपोर्ट आएपछि मात्र जिल्लामा कोरोना भए नभएको एकिन हुन्छ।
भारतबाट आएका १ हजार ४ सय ३४ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ । तिनीहरुको मंगलबारदेखि स्वाब संकलन थालिएको छ । सदरमुकाममा मंगलबार भारतबाट आएका एकसय १३ र ७ स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । अन्यको क्रमश गर्दै लगिने डा. पुनको भनाइ छ ।