जाजरकोटमा प्रहरी सहित चार संक्रमित
जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा एक प्रहरी सहित चार जनामा कोरोनाको संक्रमण देखिएको छ ।
शंकास्पदको स्वाब संकलन गरी सुर्खेत पठाइएका एक सय १२ मध्ये चार जनामा कोरोनाको रिपोर्ट पोजिटिभ देखिएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बारेकोट गाउँपालिका वडा नम्बर १ का ६ र १४ वर्षका बालक तथा ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै इलाका प्रहरी कार्यालय रामीडाँडाका ५२ वर्षीय एक प्रहरीमा संक्रमण पुष्टि भएको हो । प्रहरी कुन दर्जाका हुन खुलाइएको छैन । भारतबाट आएका उनीहरुलाई स्थानीय एक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएर सल्यानको एक क्वारेन्टाइनमा बसेका जाजरकोट भेरी नगरपालिकाका एक १९ वर्षीय युवकमा शुक्रबार संक्रमण देखिएको थियो ।
तर जाजरकोटमै रहेकामा संक्रमण देखिएको पहिलो पटक हो । संक्रमण देखिएपछि बारेकोट गाँउपालिकाले अत्यावश्यक बाहेक सबै कामकाज रोक्ने निर्णय गरेको छ । संक्रमण देखिएकासँग सम्पर्कमा रहेकालाई टेसिङ्ग गरेर परिक्षण गरिने र थप सतर्कता अपनाइने गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
उनीहरुको १० दिनपछि रिपोर्ट आएको हो । भेरी नगरपालिकाको त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसबाट स्वाब संकलन गरी पठाइएका एक सय ३७ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।