राजविराजमा कोरोना परीक्षण सुरु
राजविराज : सप्तरीको राजविराजमा पनि आइतबारदेखि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु भएको छ । डेमोलगायत विभिन्न परीक्षण सफल भएपछि मेसिन आएको १७औं दिन पीसीआर विधिबाट परीक्षण सुरु भएको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजले जनाएको छ ।
पीसीआर मेसिन जेठ ९ गते राजविराज ल्याइएको थियो। अस्पतालको प्रयोगशालामा एक साताअघि नै मेसिन जडान भएपनि परीक्षण सफल नभएपछि कोरोनाको परीक्षण सुरु गरिएको थिएन । प्रदेश २ सरकारले राजविराज, जनकपुर र बिरगञ्जमा पिसिआर मेसिनबाट स्वाब परीक्षण गर्ने भनी दुई महिनाअगाडि निर्णय गरेको थियो । जनकपुर र वीरगञ्जमा यसअघिदेखि नै पीसीआर मेसिनबाट परीक्षण हुँदै आएको छ ।
मेसिन सञ्चालन भएपछि अब कोरोना संक्रमण भए-नभएको परीक्षण राजविराजमा रहेको अस्पतालबाटै थाहा हुनेछ । यसअघि स्वाबको नमूना परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको प्राविधिक टोलीद्वारा गरिएको परीक्षण सफल भएसँगै नमूना परीक्षणको काम थालेका छौं,' अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने, 'अब परीक्षणका लागि स्वाबको नमूना धरान, विराटनगर वा काठमाडौं पठाउनुपर्ने बाध्यता रहेन ।'
राजविराजमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि परीक्षणको रिपोर्ट पनि अब छिटो आउने उनले बताए । पहिलो पटक राजविराज नगरपालिका-१ स्थित राजदेबी माविको क्वारेन्टाइनमा बसेका २२ जनाको स्वाब परीक्षणका लागि प्रकृयामा राखिएको छ ।परीक्षणको प्रक्रियामा राखिएका २२ वटा स्वाबको रिपोर्ट आइतबार नै आउने डा. दासले जानकारी दिए ।
कोरोनाको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालाबाट आएका विशेषज्ञले कोरोना परीक्षण गर्ने उपकरणसँगै प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न अस्पतालका स्वास्थ्यकर्मी र प्राविधिकलाई प्रशिक्षित गर्नेछन् । पछिल्लो पटक परीक्षण गराउनेको चाप बढेपछि धरानबाट स्वाबको रिपोर्ट आउन पाँच दिनदेखि सात दिनसम्म लाग्ने गरेको थियो ।
राजविराजमै परीक्षण कार्य सुरु भएपछि नमूना संकलन गर्दै परीक्षणलाई तीव्रता दिन सकिने कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजितकुमार झाले बताए ।अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमा जडित मेसिनमा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको छ । सुरुमा थोरै स्वाबको नमूना परीक्षण गर्दै क्रमशः क्षमता बढाउँदै लैजाने अस्पतालले जनाएको छ ।
भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, चण्डिगढ, जयपुर, बिहारलगायतबाट आएका एक हजार ८ सय २ जना सप्तरीको विभिन्न स्थानीय तहका ६७ वटा क्वारेन्टाइनमा छन् भने १ हजार १ सय ६७ जना होम क्वारेन्टाइनमा रहेका छन् ।
स्वास्थ्य कार्यालय, सप्तरीका अनुसार यसअघि धरान र बिराटनगर पठाइएको १ हजार ८ सय ४२ जनाको स्वाबमध्ये ७७ जनाको पोजिटिभ आएको छ । पठाइएका स्वाबमध्ये ३ सय ७२ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
सप्तरीका संक्रमितमध्ये ७६ जना राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसनमा रहेका छन् भने एकजना संक्रमित डिस्चार्ज भएका छन् ।