‘लकडाउन’मै बेनीलाई खरको छानारहित बनाइँदै
बेनी : कोरोना (भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनकै बीच बेनी नगरपालिकालाई खरको छाना रहित बनाउने अभियान सञ्चालन भएको छ । लकडाउनको फुर्सदलाई सदुपयोग गर्दै स्थानीयबासीले खरको छाना हटाएर घर चम्काएका छन् ।
आगोलागीबाट हुने दुर्घटनाको जोखिम न्युनीकरण गर्न खरको छाना विस्थापित गर्न नगरबासीलाई सत प्रतिशत अनुदानमा जस्तापाता उपलब्ध गराउन थालेको छ । खरको छानाको घरमा आगोलागीको उच्च जोखिम हुन्छ ।
छानामा जस्तापाटा राखेपछि दुर्घटनाको जोखिम घट्नुका साथै वर्षेनी खर, बाँस किनेर छाउनुपर्ने झञ्जटबाट मुक्ति पाएको भकिम्लीको हलेगौडाका रनबिर घर्तीले बताए । ‘आर्थिक समस्याले छाना फेर्न सकिएको थिएन्,’ उनले भने, ‘खरको ठाउँमा जस्तापाटा हालेपछि सुरक्षित भएको महशुस भएको छ ।’
विपन्न समुदाय खरको छाना विस्थापित गर्ने कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् । खर कुहिएर पानी चुहिने र भित्रै घाम पस्ने समस्या हटेको छ । जस्तापाता पाएपछि लकडाउनको फुर्सदमा आफैँ खर फालेर छाना फेरेका हुन् ।
छाना हटाउने क्रममा जीर्ण बनेका घरहरुको मर्मत गरेको बेनी–३ हलेगौडाका तिर्थबहादुर घर्तीले बताए । ‘लकडाउनको फुर्सदको पनि सदुपयोग भयो,’ उनले भने, ‘घर पनि सुरक्षित भयो ।’
खरको छाना फेर्न चालू आर्थिक वर्ष २०७६-७७ मा बेनी नगरपालिकाले ७० लाख रुपैयाँ बिनियोजन गरेको छ । करिब एक हजार वटा घरको छाना फेर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
सदरमुकाम रहेको बेनी बजार बाहेक रत्नेचौर, भकिम्ली, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन भएको छ ।
वडा न. ३ भकिम्लीका ६१ वटा घरमा करिब २१ लाख रुपैयाँ खर्चेर खरका छाना हटाएर जस्तापाटा राखिसकिएको वडा अध्यक्ष पदम पुनले बताए ।
‘लकडाउनकै बीचमा छाना परिवर्तन धमाधम भएको छ,’ उनले भने, ‘वडामार्फत सकलन गरिएको विवरण अनुसार जस्तापाता वितरण गरिएको छ ।’ प्राबिधिकले स्थलगत अध्ययन गरि तयार पारेको लागत अनुमानको आधारमा जस्तापाता उपलब्ध गराएको उनले बताए।