सप्तरीमा कोरोना भाइरस संक्रमण बढ्दै
राजविराज : सप्तरीमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ। बुधबार मात्रै थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जना कोरोना जितेर घर फर्किएका छन्।आइसोलेसन बेड अभाव भएपछि कोरोना संक्रमित पुष्टि भएका चारजना छिन्नमस्ता गाउँपालिका २ रमपुरास्थित क्वारेन्टाइनमा राखिएको बेला पुनः सोही ठाउँमा बुधबार थप ६ जनामा कोरोना संक्रमण देखिएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणअनुसार छिन्नमस्ता गाउँपालिका २ की ११ वर्षीया बालिका र २८ वर्षीय पुरुष, वडा नम्बर ४ लालापट्टीका १४ वर्षीय बालक तथा वडा नम्बर ५ लोखरमका ३५, ४० र ४५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
भारतको विभिन्न राज्यबाट जेठको दोस्रो साता आएका उनीहरुमा कोरोना संक्रमण देखिएपनि वेड अभावमा क्वारेन्टाइनमै बस्न भनिएको वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र यादवले बताए ।मंगलबार पुष्टि भएका चारजना संक्रमितलाई राजविराजस्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । बुधबार आइसोलेसनबाट तीनजना बिदा भएपछि चारजनालाई ल्याउन लागिएको हो ।
बुधबार संक्रमित देखिएका ६ जनालाई एक रात उतै होल्डिङ्ग गर्न आग्रह गरिएको डा. रणजितकुमार झाले बताए ।स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार एक सय ३ वेड रहेको राजविराजस्थित साइकृष्णा कलेज एण्ड मेडिकल हस्पिटलको आइसोलेसन सेन्टर भरिएकाले उनीहरुलाई तत्काल क्वारेन्टाइनमै होल्डिङ्ग गर्न लगाइएको हो ।
यो समेत छिन्नमस्ता गाउँपालिकामा १५ जना संक्रमित भएका छन् भने जिल्लामा संक्रमितको संख्या १ सय १२ पुगेको छ । सप्तरी जिल्लामा हालसम्म बलान बिहुल गाउँपालिकामा २७ जना, बोदेबसाइन नगरपालिकामा २० जना, राजगढ गाउँपालिकामा १३ जना, डाक्नेश्वरी नगरपालिका र राजविराज नगरपालिकामा १२÷१२ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ र कञ्चनरुप नगरपालिकामा २ जना संक्रमित भएका छन् ।
खडक, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर र तिरहुत गाउँपालिकाका १/१ जना कोरोना संक्रमित पुष्टि भएको छ । जसमध्ये चार जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।