धादिङमा थपिए २८ कोरोना संक्रमित
धादिङ : शुक्रबार धादिङ जिल्लामा २८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जना र सिद्धलेक गाउँपालिकामा १ जना छन् ।
भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएकाहरुमा शुक्रबार कोरोनाको संक्रमण देखिएको हो । संक्रमितमध्ये दुई महिला र २६ जना पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ ।
क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ आएकाहरुको गत जेठ २८ गते स्बाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । राष्ट्रिय जनसंख्या प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ अर्थात् कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेष्टमा पोजिटिभ रिपोर्ट आएकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।
संक्रमण देखिए भए पनि संक्रमितहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सेनाले जानकारी दिए । उनले भने, ‘आरडिटीमा पोजिटिभ आएपछि उनीहरुको पीसीआर गराइएको हो, पीसीआरमा कोरोनाको संक्रमण देखिए पनि उनीहरुमा केही लक्षण छैन ।’
अहिले क्वोन्टाइनमा संक्रमण भएका र नभएकाहरुलाई छुट्याएर राखिएको छ । शनिबार संकट व्यवस्थापन केन्द्रको बैठक बसेर उनीहरुलाई उपचार गर्न लैजाने या क्वारेन्टाइनमै राख्ने भन्नेबारेमा टुङ्गो लगाइने पालिका अध्यक्ष तिमल्सेनाले जानकारी दिए ।
यससँगै धादिङमा कोरोना संक्रमितको सङ्ख्या ५८ पुगेको छ । बिहीबार मात्रै त्रिपूरासुन्दरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । धादिङका संक्रमितमध्ये ३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।