बालिका बलात्कार गर्ने कार्यालय सहयोगी पक्राउ
राजविराज : सप्तरीमा वाईन मिसाईएको स्प्राइट खुवाएर श्रमिक बालिकालाई बलात्कार गरेको आरोपमा एक कार्यालय सहयोगी पक्राउ परेका छन् । तिलाठी कोईलाडी गाउँपालिकाको वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माविको कोठामा लगेर बलात्कार गरेको आरोपमा सोही विद्यालयका कार्यालय सहयोगी तिलाठी कोईलाडी गाउँपालिका-७ का ३७ वर्षीय शिवशंकर मण्डल पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।
विद्यालयको प्रांगणमा निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्ने बालिकालाई पारिश्रमिक दिने बहानामा राति अबेलासम्म राखेर नास्तासँगै दिएको स्प्राइटमा वाइन मिसाएर बलात्कार गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको डिएसपी तिलक भारतीले बताए ।
भवनको छत ढलानको काम सकिएपछि पारिश्रमिक माग्दा ठेकेदार चेक साटेर आउँदैछ भनी अबेलासम्म बसाई साँझ परे पछि घर फर्कन खोज्दा विभिन्न बहाना बनाई अल्मलाएर राखेको पीडितको भनाइ छ ।
पीडितका अनुसार पारिश्रमिक लिएर सँगै घर फर्कने विश्वास दिइ उनकी काकीले निर्माणको काम हेर्ने मुन्सी र मण्डल बसेको माथिल्लो तलाको कोठामा लगी नास्ता पानी खाँदै गरौं, ठेकेदार आएपछि पैसा लिएर जाउँला भनी माछा र स्प्राइट खान दिइन् ।
करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवन निर्माणका लागि उनकी काकीले मजदुरी गर्न बालिकालाई पाँच दिनदेखि लिएर जाने गरेकी थिइन् । 'काकीले आफू आमा जस्तै भएकी भन्दै विश्वास दिलाई राति अबेलासम्म राखी झुक्याएर मदिरा खुवाइन्' बालिकाले भनिन्, 'उनकै योजनामा घटना भयो ।'
'कोठामा विद्यार्थी पढने पाँचवटा बेञ्च जोडेर खाटजस्तो बनाइएको रहेछ, त्यही बस्न लगाइ माछा र चिसो स्प्राइट खान दिए', पीडितले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा बताएकी छिन् ।'चिसो र गुलियो लाग्ने स्प्राइट चार-पाँच गिलास खाएपछि टाउको भारी भएर लडेको र ढोका लगाइ आरोपितले बलात्कार गरेको कुरा भोलिपल्ट बिहान होसमा आएपछि छोरीले बताएको पीडितकी आमाले जानकारी दिइन् ।
मदिराले लठ्ठिएकै अवस्थामा बलात्कृत बालिकालाई राति १० बजे बर्साइन चोकमा ल्याएर आरोपितले छाडेका थिए । बालिकालाई छाडेको देख्नेपछि गाउँलेसँगै रहेकी उनकी काकीले बेहोस बालिकालाई देवी भूत लागेको भनेर घर फर्काइन् ।
उनले बालिकाको परिवारलाई समेत धामीलाई देखाउनुपर्ने भयो भन्दै खबर गरेको बालिकाकी आमाले जानकारी दिइन् । आफूले पनि सुरुमा उनको कुरामा विश्वास गरेको तर बिहान छोरी होसमा आएपछि उनले बताएको कुराले आफ्नै होस उडेको बालिकाकी आमाले बताइन् ।
'घटना लुकाउन महिलाले देवी-भूत लागेको भनेर राति भ्रमपूर्ण हल्ला फिंजाएकी रहिछन्,'गस्तीमा रहेका प्रहरीले धामीकहाँ नभई अस्पताल लैजान सल्लाह दिएपछि राजविराजस्थित अस्पताल ल्यायौं, 'उनले बताइन् ।
पीडित बालिकाकी आमासहित स्थानीयवासीले घटनाबारे सुरुमा प्रहरी चौकी कोईलाडी बरसाईनमा पुगेर जानकारी दिए।त्यसको दुई दिनपछि असार २२ गते पीडितपक्ष जिल्ला प्रहरी कार्यालय पुगेर मौखिक उजुरी गरे। पीडित पक्षले असार २३ गते लिखित उजुरी ल्याए पछि पाँचौ दिन राति १० बजे मात्र बालिकाको स्वास्थ्य परीक्षण भयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बलात्कारमा संलग्न र बलात्कारको योजना बनाउनेसहित तीनजनाविरुद्ध दिएको उजुरी असार २४ गतेको मितिमा दर्ता छ । बलात्कारको वातावरण मिलाइदिएको आरोपमा पारिवारिक नाता भित्रकै काकी ३५ वर्षीया महिलालाई तत्कालै पक्राउ गरिएको थियो ।
प्रहरी अनुसन्धानबाट बालिकालाई मजदुरीको काममा लगाइदिने काकीकै दबाबमा झुक्याएर मादक पदार्थ खुवाइएको देखिन्छ । मुख्य आरोपित पक्राउ नभएको भन्दै अनुसन्धानका लागि खोजी भएको बेला उपस्थित हुने गरी जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयबाट साउन १५ गते आरोपित पीडितकी काकी जमानतमा रिहा भएकी थिइन् । अर्का आरोपित मुन्सी पक्राउ परेका छैनन् ।
त्यसअघि पनि सो विद्यालयभित्र ११ वर्षीया बालिकामाथि यौन दुव्र्यवहारको घटना भएको थियो । विद्यालयको कोठाभित्रै ५५ वर्षीय सुर्यनारायण साहले ०७५ वैशाख १६ गते यौन दुव्र्यवहार गर्दै गरेको भिडिओ प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले असार ६ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।जिल्ला अदालतले आरोपित साहलाई असार २२ गते पुर्पक्षका लागि राजविराज कारागारमा पठाएको थियो ।