बहुविवाह गर्ने सात वर्षपछि पक्राउ
राजविराज : बहुविवाहको मुद्दामा कैद सजाय पाएका आरोपित सात वर्षपछि पक्राउ परेका छन् ।सप्तरीको बोदे बर्साईन नगरपालिका ९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताए ।
सप्तरी जिल्ला अदालतले २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । पक्राउ परेका अभियुक्तलाई राजविराज कारागारमा कैद सजायका लागि सोमबार थुनामा पठाइएको छ ।
जेठी श्रीमति हुँदाहुँदै साहले बलान बिहुल गाउँपालिका-४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग ०६९ सालमा विवाह गरेका थिए । जेठी श्रीमतिले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०६९ चैत ९ गते वैवाहिक बलात्कार गरेको र बहुविवाह गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् ।
सप्तरी जिल्लाको पहिलो वैवाहिक बलात्कारको मुद्दामा आरोपित ०६९ चैत १२ गते पक्राउ परेका थिए । वैवाहिक बलात्कारको आरोपमा ०७० वैशाख ४ गते २५ हजार धरौटीमा रिहा भएका उनले पछि सफाइ पाएको इन्स्पेक्टर केशरीले बताए । बहुविवाहको मुद्दामा भने दोषी ठहर भइ एक वर्ष कैद सजाय तोकिए पनि उनी गाउँघरमा बस्दै आएका थिए ।