सप्तरीमा थप ३ जनामा कोरोना संक्रमण
राजविराज : भारतबाट आएका सप्तरीका थप तीनजनामा कोरोना संक्रमण देखिएको छ ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको परीक्षणमा तीनजना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
भारतको हरियाणाबाट आएका तिलाठी कोइलाडी गाउँपालिका-२ का ३९ वर्षीय, राजविराज नगरपालिका-१ का ३० वर्षीय र कञ्चनरुप नगरपालिका-३ का २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पहिलो संक्रमित फेला परेको हो । सप्तरीको १८ वटा स्थानीय तहमध्ये सप्तकोशी नगरपालिका, रुपनी र अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका व्यक्तिमा हालसम्म संक्रमण फेला परेको छैन् ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार कञ्चनरुप नगरपालिका-३ का युवक भारतबाट सँगै आएका साथीसँग अग्नीसाइर कृष्ण सवरण गाउँपालिका-५ स्थित क्वारेन्टाइनमा बसेका थिए ।अन्य दुईजना आफ्नै स्थानीय तहको क्वारेन्टाइनमा बसेका थिए ।यो सहित सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ सय ५१ पुगेको छ । जसमा ११ जना महिला छन् ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा ३२, हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा २७÷२७, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिका र राजविराज नगरपालिकामा १३/१३, डाकनेश्वरी नगरपालिकामा १२, खडक र कञ्चनरुप नगरपालिकाका ३/३ जना, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा १÷१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । यसैगरी हालसम्म कोरोनालाई जितेर दुई प्रहरी, एक स्वास्थ्यकर्मीसहित ५२ जना घर फर्किएका छन्।