रुकुम घटना : संसदीय छानबिन समितिले थाल्यो काम

रुकुम घटना : संसदीय छानबिन समितिले थाल्यो काम

जाजरकोट : रुकुम घटनाको सत्यतथ्य छानबिन गर्न गठित संसदीय छानबिन समितिले घटनास्थल पुगेर काम थालेको छ। समितिका संयोजक देवेन्द्र पौडेलसहित सदस्यहरु सोमबार जाजरकोट पुगेपनि मंगलबारदेखि काम थालेका हुन्।

समितिले स्थानिय प्रशासन र सुरक्षा निकायसँग घटनाबारे हालसम्म भइरहेका अनुसन्धान प्रक्रिया र घटनाको अवस्थाबारे जानकारी लिएको छ। समितिले पीडित परिवार, अधिकारकर्मी, घाइते, संघर्ष समिति, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग आवश्यक छलफल गरी घटनाबारे जानकारी लिएको छ। संसदीय समिति समक्ष पीडित परिवारले जातिय विभेदका कारण भएको घटनालाई तोडमोड गर्न खोजिएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्। समिति समक्ष घटनामा मारिएका नवराजका बुवा मुनलालले छोराको हत्यारालाई जन्म कैदको माग गरे। ‘मेरा छोरा नवराजसहित ६ जनाको हत्या भएको छ। घटनालाई तोडमोड गर्न थालिएको सुनेको छु। पोष्टमार्टम रिपोर्टमा पानीमा डुबेर मरेको भनिएको छ।’ उनले भने, ‘हत्या गरेर भेरीमा फालिएको भएपनि डाक्टरसमेत दबाब र प्रभावमा परेर प्रहरीको मुचुल्का भन्दा फरक रिपोर्ट तयार गरेका छन्। यसरी जालझेल हुँदा हामी कसरी न्याय पाउँछौ ?  ’ उनले घटनाको निष्पक्ष छानबिन र अनुसन्धानका लागी मागसमेत गरेका छन्।

संसदीय छानबिन समितिलाई रुकुम घटना संघर्ष समिति जाजरकोटका तर्फबाट पनि ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमा पोष्टमार्टम रिपोर्ट शवको प्रकृति भन्दा फरक तयार पारिएको हुँदा आवश्यक छानबिन गर्नु पर्ने, पीडितलाई न्याय र क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने, घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने लगायतका माग समेटिएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए। अपराधी उम्किने पो हुन् कि भन्ने पीडित सबै परिवारको एउटै चिन्ता रहेको समिति संयोजक पौडेलले बताउँदै भने, ‘हामीले घटनाबारे प्रमाण दिन, अनुसन्धानमा सघाउन भनेका छौं। घटनाको सत्यतथ्य छानबिन हुन्छ।’

रुकुम घटनाका मृतकको पोष्टमार्टम रिपोर्टमा चिकित्सकले जालझेल गरेको भन्दै आन्दोलनमा उत्रिएका पीडित परिवार माथि लाठीचार्ज गर्ने कार्य निन्दनीय भएको संयोजक पौडेलले बताए। उनले भने ‘पिडामाथि पिडा थप्ने काम भएको छ। जसले आफ्ना छोराहरु गुमाएको छ उसैमाथि प्रहरीले कुटपिट गर्नु दुखद घटना हो। हामीले स्थानिय प्रशासनलाई पनि सोमबारको घटना गलत भएको र प्रहरीले संयमता अपनाउन नसकेको भन्दै यस्तो घटना पुनः नदोहो¥याउन आग्रह गरेका छौ।’

प्रहरीले पाँच राउण्ड हवाइ फायर गर्नुका साथै दुई राउण्ड अश्रुग्यास प्रहार गरी लाठी चार्ज गर्दा पाँच आन्दोलनकारी घाइते भएका थिए। घाइते हुनेमा मृतक नवराजकी आमा उर्मिला, गणेश बुढाकी आमा र बुवा पदम बुढा, दाइ भिजन बुढा लगायतका छन्। घाइते पदम बुढा र उनकी  श्रीमतीको थप उपचारका लागी नेपालगञ्ज पठाइएको छ।

शवको प्रकृति भन्दा भिन्न पोष्टमार्टम रिपोर्ट बनाइएको भन्दै पीडित परिवार र संघर्ष समिति चिकित्सकका विरुद्ध आन्दोलनमा उत्रिएका छन्।

‘यस्ता नेता चाहिँदैन, पोष्टमार्टम रिपोर्ट खारेज गर, हत्यारालाई जोगाउन खोज्ने डाक्टर मुर्दावाद’, लगायतका नारा लगाउँदै जिल्ला अस्पताल घेर्न गएका स्थानीयलाई प्रहरीले गेटमै रोक्न खोजेपछि झडप भएको थियो। शान्तिपूर्ण प्रर्दशन गर्न गएका स्थानिय माथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए। पोष्टमार्टम रिपोर्टमा डुबेर मरेको भन्ने कुरा उल्लेख गरेपछि स्थानिय आक्रोशित छन्। पीडित परिवार र स्थानियले मंगलबार पनि नाराबाजी गदै सदरमुकाममा प्रर्दशन गरेका छन्।

स्थानिय प्रशासनले आन्दोलन फिर्ता लिन संघर्ष समितिलाई आग्रह गरेको छ। संघर्ष समितिले पोष्टमार्टम रिपोर्ट तयार गर्ने पाँच जना डाक्टर विरुद्ध मतियार गरेको भन्दै मुद्धा हाल्ने निर्णय गरेको समितिका सहसंयोजक छवि पन्तले बताए।

गत जेठ १० गते केटी भगाउन भन्दै रुकुमको सोती गाउँ गएका जाजरकोटका नवराजसहित ६ जनाको सामुहिक हत्या भएको थियो। अन्तर्जातिय प्रेम सम्बन्धका कारण उक्त घटना भएको विभिन्न अधिकारकर्मीको भनाइ छ। कथित तल्लो जातको दलितले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण हुँदा ६ जनाले ज्यान गुमाएका थिए। घटनापछि जाजरकोट सदरमुकाममा दिनहुँ न्यायका लागी नाराबाजीसहित आन्दोलन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.