खाँचो बालसाहित्य पुस्तकको
काठमाडौं : कोरोना महामारीका कारण लकडाउनका बेला सम्पूर्ण विद्यालय बन्द भएर पठनपाठन ठप्प छ। विद्यार्थीलाई के पढाउने, कसरी पढाउने शिक्षक अन्योलमा छन्। केहीले अनलाइन कक्षा सञ्चालन गरे पनि ती प्रभावकारी हुन सकेका छैनन्। अभिभावकलाई छोराछोरी टाउको दुखाइ भएको छ।
विद्यार्थीका लागि कोर्सका पुस्तक छापिन सकेका छैनन्। लकडाउनको बेला बालपुस्तक केन्द्रित डिजिटल लाइब्रेरी एक उपाय हुन सक्छ, जसबाट बालबालिकाले छानी छानी रुचिअनुसारका पुस्तक पढ्न सकुन्। विडम्बना बालपुस्तक केन्द्रित डिजिटल लाइब्रेरीको नेपालमा अभाव छ। यही तथ्यलाई मध्यनजर गर्दै द एसिया फाउन्डेसनले लेट्स रिड एसिया डट ओ आरजी बालपुस्तक केन्द्रित डिजिटल लाइब्रेरी विगत तीन वर्षदेखि सुरु गरेको छ।
द एसिया फाउन्डेसनकी अधिकृत समिरा श्रेष्ठका अनुसार डिजिटल लाइब्रेरीमा नयाँनयाँ पुस्तक थपियुन् भनेर विभिन्न भाषाभाषीका नयाँनयाँ लेखकलाई फाउन्डेसनले मौका दिइरहेको छ। यसै सन्दर्भमा असारको पहिलो साता भर्चुअल माध्यमबाट १६ जनालाई बालकथा लेखनको तालिम फाउन्डेसनले दिएको छ।
सो बालकथा लेखनको तालिममा नायिका निशा अधिकारी पनि सहभागी थिइन्। नायिका अधिकारीका अनुसार उनको छोरो अहिले दुई वर्षको भयो। अब छोरालाई बालकथा सुनाउँदै हुर्काउनु पर्छ, त्यसका लागि आफंैले कथा तयार पार्न सके अझ सहज हुने भनेर कथालेखन कार्यशालामा सहभागी भइन्। निशा भन्छिन्, ‘कथामा ठूलो शक्ति हुन्छ। बालबालिकाका लागि कथा लेख्दा उपर्युक्त खालको चित्र पनि सोच्नुपर्ने भएकाले भिजुअल जस्तै हुन्छ। यसले फिल्म कथा लेखनलाई पनि सघाउँछ।’ उनको बुझाइमा नेपाली फिल्ममा मौलिक कथाको खडेरी परेको बेला लुट फिल्मको हाकु कालेको कथाले युटर्न गरेको थियो।
बालसाहित्य र अन्य साहित्यबीच एउटा मुख्य फरक चित्रमा देखिन्छ। बालसाहित्यका पुस्तकमा चित्र हुन्छन्। जति सानो उमेर समूहका लागि हो त्यति ठूला र धेरै चित्र राखिएका हुन्छन्। तर यस्ता बालपुस्तकको पनि अभाव देखिन्छ। बालकथा लेखनमा प्रशिक्षण पनि दिने गरेकी लेखिका अनुराधा शर्माका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १९९७ सालको राजकुमार प्रभाकार पुस्तकलाई पहिलो बालपुस्तकको आधार मान्दा यसबीचको एक सय २५ वर्षमा जम्मा तीन हजार पाँच सय बालपुस्तक प्रकाशित भएका छन्। त्यसमा पनि सचित्र पुस्तक ३३ प्रतिशत मात्र छन्। यसरी चित्र बिनाको बालपुस्तक बालबालिकाको रोजाइमा पर्दैनन्।
अमेरिकाका पुस्तक प्रकाशकले बालसाहित्यलाई प्रि रिडर्स (पाँच वर्षसम्मका), अर्ली रिडर्स (पाँचदेखि सात वर्षसम्मका), च्याप्टर बुक्स (सातदेखि ११ वर्षसम्मका) र यंग अडल्टस (किशोर) भनेर चार उमेर समूहमा बाँडेका छन्। साना बालबालिकाका लागि छापिने किताबमा ठूल्ठूला र धेरै चित्र हुन्छन् भने माथिल्लो उमेर समूह वा किशोरका लागि चित्रमा त्यति जोड दिइँदैन। बालसाहित्यमा नियमित कलम चलाइरहेका शाश्वत पराजुलीको अनुभवमा प्रि रिडर्सका पुस्तक नेपालमा अत्यन्त न्यून छन्।
बालसाहित्य सर्जकहरू कलाकारसँगै मिलेर साहित्य सिर्जना गर्ने प्रचलन बढिरहेको छ। मुद्रित बालसाहित्य शब्द र चित्रको मेल हो। दुवैको समन्वय नभई प्रभावकारी बालसाहित्य बन्दैन। बालसाहित्यका बारेमा सोधखोज गर्दै आएका भिक्टर प्रधान भन्छन्, ‘अरू देशमा बालकथा लेख्नेहरूले नै चित्र पनि बनाउने गरेका छन्। त्यसैले, चित्र र कथाको सिक्वेन्स मिल्छ। यहाँ यो चलनै छैन भन्दा हुन्छ।’ केही चित्रकार भने बालकथा लेखनमा आउन थालेको सुखद खबर छ।
बालसाहित्यको विषय क्षेत्र व्यापक छ। समाज, जीवन र परिवेशलाई सुहाउने र यथार्थ ढंगले सोच्न सकिने रूप प्रदान गरेर लोकसाहित्य, पौराणिक र वैज्ञानिक एवं सामाजिक विषयस्रोतका वस्तुलाई बाल्यउपभोक्ता बजारको उपयोगी, रोचक, आकर्षक र कौतुहलपूर्ण शिल्पमा शिक्षाप्रद बनाएर प्रस्तुत गर्न सकिन्छ। द एसिया फाउन्डेसनले लोककथालाई बालशैलीमा चित्रकथा बनाउने कार्यशाला सञ्चालन गरेको थियो। भिक्टर प्रधान भन्छन्, ‘दन्त्य कथालाई बालशैलीमा पुनर्कथन गर्न सकिन्छ। तर मिथक, किंवदन्तीलाई आफू खुसी पुनर्लेखन नगरी यसबारे प्रशस्त अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ। नभए बालबालिकाले गलत इतिहास पढ्ने खतरा रहन्छ।’
समालोचक राजेन्द्र सुवेदीका अनुसार, ‘बालसाहित्यको सिर्जना बालकको उमेरको हद, ग्रहणशीलता, परखक्षमता, मनोवैज्ञानिक विकास आदिलाई दृष्टि दिएर गरिएको हुनुपर्छ।’
बालशिक्षा विषयमा अनुसन्धान गर्ने आर मानन्धर अभिभावक र बच्चाबीचको सम्बन्धको असली परीक्षा लकडाउनमा देखिएको बताउँछन्। अभिभावक बच्चा पाइसकेपछि सकेसम्म छिटोभन्दा छिटो आफ्नो बच्चाबाट टाढिन चाहन्छन्। त्यसैले, सानै उमेरमा विद्यालय पठाउँछन्। कसैले त निकै सानो उमेरमा बोर्डस नै राखी दिन्छन्। यस्तो परिस्थितिमा आफ्नै बालबालिकासित दुईचार दिन व्यतित गर्दा पनि आत्तिनु अनौठो कुरा होइन। नभए त आफ्नो बालबालिकासँग बस्न पाउनुभन्दा ठूलो आनन्द अरू के हुन्छ ? तर उनीहरूसँग छोराछोरी फकाउने कथा हुँदैन। आउट कोर्सका किताब नै किनेर ल्याउँदैनन्।
अहिलेका बालबालिकालाई कोरोना महामारीको कठोर वास्तविकतासँग परिचित हुनु आफैंमा एउटा ठूलो शिक्षा हो। यो उनीहरू स्कुलमा पढाएको भन्दा बढ्ता बुझेका छन्। स्वास्थ्यबारे सचेत भएका छन्। यस्ता प्रभाव पार्ने बालपुस्तकको खाँचो छ। मानन्धर लकडाउनको समयमा अभिभावकले आफ्ना छोराछोरीसँग संवाद बढाउन सल्लाह दिन्छन्। चिचिला छोराछोरीसँग पनि धेरै कुरा सिक्न आग्रह गर्छन्। कतिपय नेवार समुदायका विद्यार्थीहरू यो लकडाउनमा फेसबुकबाट आफ्नो लिपि सिक्दैछन्। तर उनीहरूका आमाबाबुलाई नै लिपि थाहा छैन।
लेखक छविलाल कोपिला भन्छन्, ‘अभिभावक आफूले त कथा, किंवदन्ती बिर्सिए नै। बालसाहित्यकेन्द्रित पुस्तकसमेत नल्याई दिएर आफ्ना छोराछोरीलाई कसरी असल शिक्षा दिन सक्छन् ? ’ तर अहम् सवाल यही छ, बजारमा राम्रा बालसाहित्य केन्द्रित पुस्तक खै ?