पर्व हस्तान्तरणमा समस्या
पाल्पा : सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आएको छ। भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा पाल्पा परिचित छ। कत्युरीवंश, पालवंश, खसवंश, सेनवंश र शाहवंशले शासन गरेको पाल्पामा उनीहरूले अवलम्बन गरेको रीतिरिवाज, रहनसहन, कला, वास्तुकला आजसम्म पनि कहीँ न कतै जीवन्त छ।
नेपालको ताजमहल मानिने रानीमहल, एसियाकै ठूलो त्रिशूल भएको भैरवस्थान मन्दिर, मिनी सिंहदरबारका रूपमा चिनिने पाल्पा दरबार, टुँडिखेलमा उभिएको विशाल करुवा, संसारभर फैलिएको पाल्पाली ढाका यहाँका बहुमूल्य सम्पत्ति हुन्।
विजय उत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती माईको रथयात्रा, प्रेमसँग जोडिएको लाखेनाच, एग्रो रिलिजनसँग सादृश्य राख्ने रोपाइँजात्रा, मृत्यु गणनासँग सम्बन्धित सापारु जात्रा, प्रकृतिसँग जोडिएको बाघजात्रा आदि तानसेनका मुख्य जात्रा तथा पर्व हुन्। जात्रा पर्वको माध्यमबाट आपसी भाइचारा, विश्वास, भ्रातृत्व, भगिनीत्व र बन्धुत्वको भावना कायम रहन्छ। यसले पुस्तान्तरणलाई पनि जोडेर राख्छ।
समुदायलाई एकताको बन्धनमा बाँधेर राख्ने यस्ता जात्रा, पर्व र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ताको आकर्षण भने बढ्न सकेको छैन। संस्कृति सम्वद्र्धनमा पुराना पुस्ता खटेर लाग्न नसक्ने र नयाँ पुस्ताले बेवास्ता गर्दा पछिल्लो समय जात्रा पर्वको रौनक हराउँदै गएको संस्कृतिकर्मी बताउँछन्। पाल्पा तानसेनका मदन देउराली लामो समय देउराली परिवारमा बसेर पाल्पाको कला, संस्कृति, संगीत र रहनसहनको संरक्षणमा लागिपरेका थिए। उनले गत वर्ष देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाबाट तानसेनमा मनाइने जात्रा तथा चाडपर्व शीर्षकको पुस्तक प्रकाशन गरेका छन्। पुस्तकमा उनले पाल्पामा मनाइने चार दर्जनभन्दा बढी जात्रा तथा पर्वको जानकारी संकलन गरेका छन्।
देउरालीका अनुसार पाल्पाको तानसेन बजार नेवारी समुदायको बाहुल्य भएको सहर हो। यहाँ घरैपिच्छे मन्दिर तथा देवालय छन्। वर्षको सुरुआतमा मनाइने बटुक भैरव जात्रादेखि लिएर अन्तिममा मनाइने चैतेदसंै जात्रा गरी यहाँ वर्षभरि नै जात्रा चलिरहन्छ।
संस्कृतिले ओतप्रोत तानसेन अहिले शून्यप्रायः छ। पहिले वर्षभरि नै स्वतस्फूर्त रूपमा बजारमा शात्रीय संगीत घन्कन्थ्यो। अग्रज कलाकारले भजन मण्डली बनाएर भजन, राग गाउँदै मृदंग र मुजुराको तालमा बजार परिक्रमा गर्थे। अहिले मौलिक परम्परा धेरै लोप भइसके।
देउराली भन्छन्, ‘संस्कृतिले ओतप्रोत तानसेन अहिले शून्यप्रायः छ। पहिले वर्षभरि नै स्वतस्फूर्त रूपमा बजारमा शात्रीय संगीत घन्कन्थ्यो। अग्रज कलाकारले भजन मण्डली बनाएर भजन, राग गाउँदै मृदंग र मुजुराको तालमा बजार परिक्रमा गर्थे। अहिले मौलिक परम्परा धेरै लोप भइसके। ‘संस्कृतिले ओतप्रोत तानसेन अहिले शून्यप्रायः छ।’ उनी थप्छन्, ‘कतिपय अग्रज स्रष्टाको निधन भयो, कतिपय सक्रिय व्यक्तिले यहाँको थातथलो नै छाडेर गए। नयाँ पुस्ताले निरन्तरता दिन सकेनन्। परिणामतः धेरै मौलिक संस्कृति लोप हुने अवस्थामा छन्।’
समाजसेवी तथा प्राध्यापक राजेश्वर उदयका अनुसार पाल्पाका जात्रापर्व र संस्कृति संरक्षणमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्न सकेको छैन। जात्रा पर्व मनाउन खर्चिलो छ। मठमन्दिर जीर्ण भइसके। संरक्षणको अभावमा कतिपय इतिहास बोकेका सम्पदा लोप भइसके। गुठीलगायत स्थानीय टोल समूह मिलेर सामान्य रूपमा परम्परा धान्ने काम गरे पनि जात्रा पर्व र मठमन्दिरको उचित संरक्षण हुन सकेको छैन। उनी भन्छन्, ‘इतिहास बोकेका परम्परा र संस्कृतिको सम्वद्र्धनमा स्थानीय सरकारले काम गर्ने प्रतिबद्धता जनाए पनि आवश्यक पहल सुरु गरेको छैन। गाईजात्रा होस् या रोपाइँजात्रा, बिस्केट वा बटुक भैरवजात्रा अथवा भीमसेन जात्रा या गठेमंगल— तानसेनका शोभा हुन् यी।’
जिल्लाको बजेटमा अति न्यून रकम मात्रै छुट्ट्याइने हुँदा कतिपय मन्दिरको नियमित पूजा सञ्चालन गर्न पनि समस्या परिरहेको मदन देउराली बताउँछन्। उनी भन्छन्, ‘हाम्रो पुस्ताले संरक्षण गरेका यस्ता संस्कृति जोगाउन नयाँ पुस्ता काँध थाप्न चाहँदैनन्। राष्ट्रको धरोहरका रूपमा रहेका पुराना संस्कृति संरक्षणमा टोल, समूह, वडा कार्यालय हुँदै स्थानीय सरकारको प्रभावकारी भूमिका हुन जरुरी छ।