म्याग्दीको दाना सबस्टेसनमा स्थानीयको तालाबन्दी

म्याग्दीको दाना सबस्टेसनमा स्थानीयको तालाबन्दी

बेनी : नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीको अन्नपूर्ण-३ दानामा निर्माणाधिन २२० केभी क्षमताको सब स्टेसनमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमका लागि गरिएका मागको सुनुवाई नभएको भन्दै वडा अध्यक्ष नरसिंहबहादुर पुर्जाको नेतृत्वमा स्थानीयले बुधबार बिहान सबस्टेसनको प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् । 

तालाबन्दी गरेर मजदुरलाई छिर्न नदिएपछि सबस्टेसनमा उपकरण जडान र अन्य निर्माणको काम रोकिएको स्थानीय इन्द्रसिंह शेरचनले बताए । जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाहरुले आयोजनाले सुरत केसीको नेतृत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरेका थिए । 

'आयोजनाको मुख्य प्रभावित ठाउँमा प्रस्ताव गरिएको सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न आश देखाउने तर कार्यान्वयन नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएका हौं, वडा अध्यक्ष पुर्जाले भने, 'माग पूरा नहुँदासम्म ताला लगाएर निर्माणमा अवरोध गर्छौं।'  वार्ताका लागि बोलाए पनि आयोजनाले बेवास्ता गरेको उनले बताए । 

सामाजिक उत्तरदायीत्वका कार्यक्रमअन्तरगत नियमित विद्युत आपूर्तिको व्यवस्था, ज्ञानप्रकाश मावि जोड्ने सडक स्तरोन्निति, आमा समूह र युवा क्लबको भवनमा पूर्वाधार तथा दुवाडी खोलाको सडक मर्मतको माग गरिएको स्थानीय गंगा पुनले बताए । 

आयोजनाको वातावरण तथा सामाजिक इकाइका प्रमुख प्रमोद न्यौपानेले आन्दोलित दानाबासीसँग वार्ताको तयारी भएको बताए । वार्ता र सहमतिको माध्यमबाट आयोजना सूचारु गराउन पहल गरिने उनले बताए । न्यौपानेका अनुसार आयोजनाले सोही वडाकै फगाममा ५५ लाख खर्चेर ५ किलोमिटर सडक निर्माण गरेको छ । 

एशीयाली विकास बैंकको सहयोगमा दाना र पर्वतको खुर्कोटमा सब स्टेसनका साथै ३९ दशमलब ६ किलोमिटर दुरीको प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार महिनाभित्र सबस्टेसन चार्ज गर्ने आयोजनाको तयारी छ । 

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेसन बनाउन लागिएको हो । 

प्रशारण लाइन र सबस्टेसन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब दुई वर्ष ढिला गरी सकिन लागेको हो । पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो । 

पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजिकरणमा गत पुष देखि सूचारु भएको थियो । आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत खेर गएको छ । 

१३ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले प्रशारण लाइन र सबस्टेसनसँगै उत्पादन सुरु गर्ने तयारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.