अश्वेत माथिको संहार शृंखला
अमेरिका : अमेरिकी इतिहासमा अश्वेत मानिस माथि प्रहरीले गरेको दमन र डरलाग्दा नरसंहारका घटना धेरै छन्। यस्ता घटनाहरूमध्येका पछिल्लो घटना हो, जर्ज फ्लोयडको हत्या प्रकरण। यही घटना बाहिर आएपछि अहिले अमेरिकामा अश्वेत नागरिकप्रति गरिएका जातीय नरसंहारको इतिहासलाई खोतल्न थालिएको छ। यस्ता कैयौं घटनाका बारेमा धेरैलाई थाहा पनि नहुन सक्छ।
सन् १९२१ मा ओक्लाहामाको टुल्सामा ‘ब्ल्याक वाल स्ट्रिट’ नामबाट चिनिने ठाउँमा अश्वेतहरू बसोबास गर्थे। त्यहाँ स्वतन्त्रताका लागि संघर्ष गर्दा सयौं संख्यामा ज्यान गुमाउनेको दृश्य देखिएको थियो। तर, विडम्बना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको मध्यपश्चिममा अवस्थित उक्त सहरबाट राष्ट्रपति चुनावको अभियान पनि फेरि सुरु गरेका छन्। गत जुन २० मा उनी आफ्ना समर्थकहरूसँगै त्यहाँ पुगे। अहिले देशभरि फैलिएको तनावका बीचमा आफ्नो चुनावी प्रचार लिएर ट्रम्प त्यहाँ पुग्नु कत्तिको ठिक हो ? अर्थात् चुनावी प्रचारका लागि त्यो नै उपयुक्त ठाउँ थियो त ? धेरै मानिसमा अहिले यो जिज्ञासा उब्जिन थालेको छ।
यसरी भयो नरसंहार
कुरा सन् १९२१ मे ३० को हो। डाउनटाउन टुल्सा होटलमा एक अश्वेत पुरुषले श्वेत महिलामाथि हमला गर्यो भन्ने हल्ला फैलियो। त्यस दिन डीक रोलेड नामक ती पुरुष र सारा पेज नामक ती महिलाको भेट लिफ्टमा भएको थियो। तर, त्यसपछि के भयो भन्नेमा सबैको फरक मत रह्यो। उक्त घटना गोरा समुदायमाझ पुगुञ्जेल त्यसमा धेरै बढाइचढाइ भईसकेको थियो। टुल्सा प्रहरीले रोलेडलाई गिरफ्तार गरी अनुसन्धान सुरु गर्यो।
अर्को दिन अर्थात् ३१ मे मा ‘टुल्सा ट्रिब्युन’ नामक पत्रिकामा अश्वेत र श्वेतबीचमा झगडा गराउन उकास्ने खालको समाचार प्रकाशित भयो। जसका कारण त्यहाँको अदालत नजिकै झडप सुरु भयो। तर, त्यहाँ रोलेडलाई बचाउन सुरक्षित ठाउँमा उनलाई बन्द कोठामा थुनेर राखे। त्यही क्रममा गोली पनि चल्यो र अल्पसंख्यक अफ्रिकी अमेरिकी ग्रिनवुड जिल्लातिर विस्थापित हुन थाले। त्यही ठाउँ अहिले ‘ब्ल्याक वाल स्ट्रिट’ नामले चिनिन्छ। उक्त ठाउँ व्यापार व्यवसाय तथा आर्थिक समृद्धिका लागि चिनिन्छ।
जुन १ को बिहान श्वेतहरूको दंगाले ग्रिनवुडमा लुटपाट भयो। त्यहाँ आगो लगाइयो। त्यसपछि ओक्लाहामाका तत्कालीन गभर्नर जेम्स रोबर्ट्सनले मार्सल कानुन घोषणा गरे। दंगामा ३५ जना अश्वेत जलेर नष्ट भए। १२ सयभन्दा बढी घर जलाएर खरानी बनाइए भने आठ सयभन्दा बढी मानिस घाइते भएकाले उनीहरूले चोटपटकको उपचार गराए। सुरुमा ३९ जना मात्र मारिएको खबर आए पनि इतिहासकारहरूकाअनुसार कम्तीमा तीन सयले ज्यान गुमाएका थिए। त्यसैगरी ६ हजारभन्दा बढीलाई हिरासतमा लिइएको थियो। यीमध्ये सबैभन्दा बढी अफ्रिकी अमेरिकी समुदायका मानिस थिए।
ब्ल्याक वाल स्ट्रिट
१९०० को दशकको सुरुतिर ग्रिनवुड जिल्ला एउटा विकसित हुँदै गरेको सहर थियो। त्यहाँ फिल्म हल, रेस्टुरेन्ट, पसल तथा फोटो स्टुडियो आदि थिए। ब्ल्याक वाल स्ट्रिट नामले उक्त क्षेत्रको आर्थिक उन्नति झल्काउँछ। यो सहर अश्वेत समुदायका लागि देशकै सबैभन्दा राम्रो सहर मानिन्थ्यो। तर, दंगा, आगजनी तथा हिंसा आदिले सहरलाई बर्बाद पारिदियो।
पछिल्लो तनाव
टुल्साको नश्लीय नरसंहार एउटा फरक तथा अनपेक्षित घटनाको रूपमा भएको थिएन। यो घटनालाई बुझ्नका लागि दुई वर्ष पहिलेको घटना बुझ्नु जरुरी देखिन्छ। त्यति बेला अमेरिकी सेना पहिले विश्व युद्धबाट फिर्ता भएका थिए। त्यतिबेला कैयांै अश्वेत सेनाहरू उनीहरूको पोसाक मै त्यहाँ फैलिएका थिए। त्यसैगरी सन् १९१९ को गर्मी महिनामा अमेरिकीमा अलगअलग ठाउँमा अफ्रिकी–अमेरिकी समुदायविरुद्ध आपराधिक घटनाको बाढी नै आयो।
ओक्लाहामा विश्वविद्यालयका इतिहास विभागका प्रा. बेन केपल भन्छन्, ‘टुल्सा नरसंहारलाई यसै सन्दर्भमा जान्न जरुरी छ। ’ उनले उक्त सहर एक समृद्ध आर्थिक केन्द्र भएकाले अरूलाई ईष्र्याको विषय भएको यथेष्ट प्रमाण रहेको बताए। नश्लीय भेदभावका बेला ‘वाल स्ट्रिट’ को आर्थिक समृद्धि भएको कुरा उच्चवर्गीय श्वेतहरूलाई मन परेन। त्यसैले उनीहरूले सहरमा नै आगो लगाएर ध्वस्त बनाउने सोचले यस्तो गरेका बताउँछन्, केपल। उनी भन्छन्, ‘युद्धपछि अमेरिकी अर्थव्यवस्था गहिरो किसिमले खस्केको थियो। यसको कारण तेल उद्योगमा पनि निकै गम्भीर असर परेको थियो।’
एउटा लुकेको त्रास
केपलले ओक्लाहामा विश्वविद्यालयमा आउनुभन्दा पहिले टुल्सा नश्लीय नरसंहारका बारेमा सुनेका थिएनन्। यो सन् १९९४ को कुरा हो। स्कुल वा विश्वविद्यालयमा पनि उनले यो घटनाको बारेमा सुनेका थिएनन्।
ग्रिनवुड कल्चरल सेन्टरकी कार्यक्रम संयोजक मिसेल ब्राउन ती घटनालाई सम्झी रहन्छिन्। अझै पनि जीवित रहेका केही मानिसको अनुभव उनलाई सम्झना आइरहन्छ। ब्राउनले भनिन्, ‘नरसंहारपछि अश्वेत र श्वेत दुवैले यो घटनालाई लुकाउने कोसिस गरेका थिए। करिब तीन सयको ज्यान गएको थियो र ती शव कहिल्यै फेला पनि परेनन्।’
कसले पायो सजाय ?
१९९० को दशकमा कानुनी कारबाहीमार्फत जीवित रहेका पीडितहरूलाई न्याय दिलाउने प्रयास गरियो। तर, त्यो प्रयास सफल भएन। टुल्सा अधिकारीहरूले गत वर्ष एउटा कार्यक्रम सुरु गरे। कार्यक्रमअनुसार अन्डरग्राउन्ड पेनिट्रेसन र्याडारको सहयोगमा गाडिएका लास पत्ता लगाउने कोसिस गरिएको थियो। पीडितहरूको पहिचान गर्न सकियोस् भन्ने यसको उद्देश्य थियो।
ब्राउन भन्छिन्, ‘हामीले यसको चर्चा गर्नु जरुरी छ। किनभने सहर निकै खराब स्थितिबाट गुज्रिरहेको छ। सहर विभाजित छ। किनकि हामीले इतिहासको यो भागलाई समाधान गर्ने प्रयत्न कहिल्यै गरेनौं।’
जस्ताको तस्तै हुन मुस्किल
बिग्रिसकेका संरचना र विषयलाई पुनः त्यही स्थितिमा ल्याउनु निकै कठिन कार्य हो। ट्रेन ट्र्याकले अझै पनि ग्रिनवुडलाई बाँकी सहरबाट अलग राखेको छ। केही ऐतिहासिक बिन्दुहरूबाहेक टुल्सामा ब्ल्याक वाल स्ट्रिटको कुनै साक्षी बाँकी छैनन्। थेरेसी अडुनी भन्छन्, ‘१९२१ मा मेरो परिवार यहाँ बस्थ्यो। तर, अब यहाँ केही छैन।’ उनको हजुरबुवा घडी बनाउँथे। उनको बुवा नरसंहारको केही महिनापछि जन्मिएका थिए। उनी भन्छन्, ‘उनले नरसंहार शब्दलाई स्वीकार गरेका थिए। कैयौं वर्षसम्म यसलाई दंगा भनिरहे। यस्तो अवस्थामा जसको सबैथोक लुटियो उनीहरूलाई बिमा कम्पनीले पनि कुनै क्षतिपूर्ति दिएन।’
गम्भीर बहस
घटना घटेको सय वर्षपछि यस घटनाको बारेमा सैयांै संख्यामा डकुमेन्ट्री, किताब तथा रिपोर्ट लेखिन थालेकोमा आफू सन्तुष्ट रहेको केपले बताइन्। उनी भन्छिन्, ‘अमेरिकामा अहिले जे भइरहेको छ, यसको जग पहिलेदेखि बस्दै आएको थियो। विगत १० वर्षदेखि प्रहरीले पूरै देशभरि दुव्र्यवहार गरिरहेको छ र यसबाट मानिस दुःखी छन्।’ब्रेकर
१९०० को दशकको सुरुतिर ग्रिनवुड जिल्ला एउटा विकसित हुँदै गरेको सहर थियो। त्यहाँ फिल्म हल, रेस्टुरेन्ट, पसल तथा फोटो स्टुडियो आदि थिए। ब्ल्याक वाल स्ट्रिट नामले उक्त क्षेत्रको आर्थिक उन्नति झल्काउँछ। यो सहर अश्वेत समुदायका लागि देशकै सबैभन्दा राम्रो सहर मानिन्थ्यो। तर, दंगा, आगजनी तथा हिंसा आदिले सहरलाई बर्बाद पारिदियो।