बैतडीका १० ओटै स्थानीय तहमा कोरोना संक्रमण

बैतडी : बैतडीका १० ओटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । पुर्चौंडी नगरपालिकाका ४ जनामा शुक्रबार कोरोना पुष्टी भएसँगै १० ओटै स्थानीय तहमा कोरोना बिरामी भेटिएका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए ।
सबैभन्दा बढी शिवनाथ गाउँपालिकाका ४८ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ३०, पाटन नगरपालिकाका ११, मेलौली नगरपालिकाका ५, पुर्चौंडी नगरपालिकाका ४, पञ्चेश्वर गाउँपालिकाका ३३, सुर्नया गाउँपालिकाका ३, दोगडाकेदार गाउँपालिकाका २९ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै डिलाशैनी गाउँपालिकाका ७ र सिगास गाउँपालिकाका ३६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।
सिगास गाउँपालिकाका २ जनामा कर्णाली प्रदेशमा संक्रमण पुष्टी भएकाले उनीहरुको तथ्यांक भने नसमेटिएको उनले बताए । संक्रमितमध्ये १२९ जना क्वारेन्टाइनमा बसिरहेका छन् भने ७६ जनालाई होम आइसोलेसनमा पठाइएको जोशीले बताए । उनले भने, ‘मन्त्रालयको निर्देशिका अनुसार स्वाब संकलन भएको १४ दिन पूरा भएका र कुनै लक्षण नदेखिएकालाई होम आइसोलेसनमा पठाइएको छ । सोही अनुसार हामीले पनि जिल्लामा लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा पठाएका छौं ।’
संक्रमित सबैको स्वास्थ्य अवस्था अहिले समान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘अहिलेसम्म संक्रमण पुष्टी भएकाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।’ जिल्लाका सबै स्थानीय तहमा कोरोना बिरामी फेला परेपछि स्थानीयहरु भने त्रसित भएका छन् । संक्रमितसमेत गाउँघरमै रहेकाले संक्रमणको जोखिम झन् बढेको स्थानीयहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
