लकडाउनमा व्यस्त ओली
काठमाडौं : कोरोना भाइरस कोभिड–१९ ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको छ। यसको रोकथाम तथा नियन्त्रण कसरी गर्ने भन्नेमा विश्वको ध्यान केन्द्रित छ। नेपालमा पनि यसको संक्रमणबाट पीडितको संख्या दिनैपिच्छे बढिरहेको छ।
लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन्। यसले नेपाली कला क्षेत्रलाई पनि प्रभावित पारेको छ। दैनिकजसो भइरहने विभिन्न म्युजिक भिडियो, टेली सिरियल र चलचित्रका छायांकन एकाधबाहेक बन्द छन्। यसै क्षेत्रमा आश्रित प्राविधिक चलचित्र निर्माणको काम ठप्प भएपछि सबैभन्दा बढी मारमा परेका छन्।
चलचित्र, भिडियो र विज्ञापन निर्माणको काममा व्यस्त भइरहने प्रोडक्सन डिजाइजर यमप्रसाद ओली भने सरकारले लकडाउन खुकुलो बनाउनासाथ आफ्नो कार्यलाई निरन्तरता दिइरहेका छन्। उनी हाल पुनर्निर्माण भइरहेको धरहरासम्बन्धी ‘भीमसेन थापा ः धरहरा पुनर्निर्माण एक वृत्तचित्र’मा व्यस्त छन्। ओलीसमेत निर्माता रहेको चलचित्र ‘के घर के डेरा’ मुहूर्त भएर पनि कोरोना संक्रमणका कारण छायांकनमा जान सकेन। वातावरण सामान्य हुनासाथ ‘के घर के डेरा’को काम सुरु हुने उनले बताए।
यस्तो अवस्थामा निर्माता सबैतिरबाट सुरक्षित हुनुपर्छ। कुनै पनि व्यवसायमा संलग्नले आफूले सुरु गरेको व्यवसायबाट मुनाफा गर्न सकेन भने उसले पटकपटक त्यो व्यवसायमा लगानी गर्न चाहँदैन। त्यसतर्फ पनि प्रोडक्सन डिजाइनरले ध्यान दिनुपर्ने हुन्छ। ओली भन्छन्, ‘पैसाले मात्र चलचित्र बन्दैन, टिमवर्क राम्रो हुनु जरुरी छ। निर्देशकले चलचित्रलाई कसरी राम्रो बनाउने भनेर काम गरिरहेको हुन्छ भने हामीले त्यसलाई सहज वातावरण मिलाइदिनुपर्छ। त्यसैले प्रोडक्सनको भूमिका महत्वपूर्ण हुन्छ।’
डेढ दशकदेखि पर्दाबाहिर रहेर प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गर्दै आएका ओलीले नेपाली मात्र नभएर बलिउड र हलिउडका चलचित्र प्रोडक्सनको जिम्मेवारीसमेत निर्वाह गरेका छन्। जोनी जेन्टलम्यान, प्रोड्युसर, स्कुल, सुखानी, होस्टेल रिटर्नस, बिजुली मेसिन, होस्टेल, शहादत, रिलेसन, आभास, पुरानो बुलेट, रुदाने आदि चलचित्रमा काम गरेका ओली विभिन्न संघसंस्थाबाट सम्मानित र पुरस्कृत भएका छन्।
ओलीले हलिउड प्रोजेक्ट यूकेको वेब सिरिज ‘फरेन बडिज’ र बीबीसी यूकेको टीभी सिरिज ‘आवर गर्ल’, यूकेकै इन्सुरेन्स कम्पनीको विज्ञापन ‘एक्सा’मा काम गरेका छन्। नेपालमा छायांकन गरिएको यूकेकै टीभी सिरिज ‘ब्ल्याक न्योरसिस’को प्रोडक्सन पनि उनैले हेरेका हुन्। उनले भोजपुरी चलचित्र ‘मर्द रिक्सावाला’, ‘दिवाना २’, ‘निरहुवा चलल लन्डन’ आदिमा काम गरिसकेका छन्।