उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

उदयपुर : उदयपुरमा ३ महिलासहित ७ जना कोरोना संक्रमित थपिएका छन् । सातैजना त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा बस्दै आएका हुन् । बिराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये दुईजना तेस्रो मुलुक कुबेत, एकजना दुबई र चारजना छिमेकी मुलुक भारतबाट आएका हुन् । उनीहरु सबै त्रियुगा नगरबासी हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार तीन महिलामध्ये त्रिनपा ६ की ३० वर्षीया, वडानं. ९ की ३० वर्षीया र वडा नं. १० की ५३ वर्षीया महिला रहेका छन् ।
त्रिनपा ६ की महिला कुबेतबाट असार ९ गते आएकी थिइन् । त्रिनपा ९ की महिला भारतबाट जेष्ठ ३२ गते नेपालको लौवागढी नाकाबाट नेपाल प्रवेश गरेकी थिइन् । त्यस्तै त्रिनपा १० की महिला पनि भारतको दिल्लीबाट असार ९ गते विराटनगरको जोगवनी नाकाबाट नेपाल प्रवेश गरेकी हुन् ।
त्यस्तै पुरुषतर्फ त्रियुगा नपा २ का ३०, वडानं. ६ का ३५, वडानं. ८ का २३ र वडानं. १० का २६ वषीय पुरुष रहेका छन् । त्रिनपा २ का पुरुष असार ९ गते कुबेतबाट नेपाल आएका हुन् । त्रियुगा ६ का पुरुष भारतको युपी राज्यबाट नेपालको लौवागढी नाकाबाट असार ९ गते, त्रिनपा ८ का पुरुष असार ९ गते दुबईबाट र त्रिनपा १० का पुरुष दिल्लीबाट सिरहाको माडर हुँदै नेपाल असार ५ गते प्रवेश गरेका थिए ।
योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । अहिलेसम्म उदयपुरमा १४ जना महिलासहित ६० जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । संक्रमण देखिएका उनीहरुलाई नेपाल आउने बित्तिकै त्रियुगा नगरपालिकाले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडामा बनाएको क्वारेन्टाइनमा राखेको थियो । संक्रमितहरुमध्ये भारतबाट आएका नेपाल- भारत सीमा क्षेत्रबाट उद्दार गरी ल्याइएका हुन भने खाँडी मुलूकबाट काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै आएकालाई सिधै क्वारेन्टाइनमा ल्याइएको थियो ।
स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ सय ५१ जना महिलासहित तीन हजार ५ सय ५१ ले पिसिआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये ३ हजार १ सय ३० जनाको रिर्पोट आइसकेको छ । त्यस्तै १ सय ६२ जना महिलासहित ८ सय ८ जनाको आरडीटी टेष्ट भइसकेको छ । त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजिटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए । कार्यालयकाअनुसार ३७ जना महिला र १ सय ६० जना पुरुष गरी १ सय ९७ जना क्वारेन्टाइनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होम क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
